भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल र पोखरा अन्र्तराष्ट्रिय विमानस्थल कुनै ठोस व्यवसायिक योजना बिना नै कमिशन खानकै लागि मात्र निर्माण गरेको बताएका छन् । सिद्धार्थ उद्योग बाणिज्य संघ, रूपन्देहीले विमानस्थल सञ्चालनका लागि शनिबार भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बाल्दै लिङ्गदेनले भ्रष्टाचार र विमानस्थल सञ्चालनको मुद्दा संगसंगै लैजानुपर्ने आवश्यकता औल्याए ।
उनले मुआव्जा वितरणमा अनियमितता भएको संकेत गर्दै चर्को मूल्यमा आवश्कयता भन्दा बढी जग्गा अधिग्रहण गरिएको दावी गरे । “यो सरकारको लगानी मात्र हैन नि, हाम्रो टाउकोमा ऋणको भारी बोकाएको छ । ४१ अर्बको लगानी गरेर यो नचल्ने एयरपार्ट कसले बनायो ?” लिङ्गदेनले भने “यो विषयले संसदमा प्रवेश गरेको छ, उदघाटन भएको यतिका वर्ष हुदा पनि दुवै विमानस्थल किन सञ्चालनमा आउन सकेन ?”
उनले यसै विषयमा पनि सार्वजनिक लेखा समिति अन्र्तगत छानविन समिति बनेको र त्यो समितिको काम अनियमितताको छानविन गर्नुको साथै विमानस्थल कसरी सञ्चालनमा ल्याउन सकिन्छ भन्ने पनि रहको बताए ।
उनले भैरहवा र पोखराका व्यवसायीहरुलाई निराश नहुन आग्रह गर्दै भने “यो कुरालाई हामीले त्यतिकै मर्न दिदैनौ, निराश नहुनुहोस । सबै भ्रष्ट नै छन् भन्ने पनि छैन अन्य सदस्य साथीहरु यस कुरामा सकारात्मक हुनुहुन्छ ।”
उनले पोखरा विमानस्थल प्राविधिक रुपमा सञ्चालनमा आउन कठिनाई रहे पनि भैरहवा विमानस्थल सञ्चालनमा आउन धेरै समस्या नरहेको बताए । श्रम, मेनपावर, भिसा सेन्टर लगायतका आवश्यक पूर्वाधार सरकारको एउटै निर्णयमा यहाँ आउन सक्ने भएकोले यस तर्फ सरकारको ध्यानाकर्षण गराउने उनले प्रतिवद्धता जनाए । तर त्यसपछिको सञ्चालनमा भने दुईवटा समस्या रहेको उनले औल्याए । पहिलो जहाजहरु होल्ड गर्नुप¥यो वा रुटको लागि भारतको भर पर्नुपर्ने र बैदेशिक रोजगारीमा जाने भन्दा पनि धार्मिक पर्यटनका लागि आउने यात्रुलाई जोडन सरकारले नै पहल लिनुपर्ने उनको भनाई थियो ।
यस अघि अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले भैरहवा तथा यस आसपासका जनताले विमानस्थल सञ्चालनका लागि पटक पटक प्रयास गरे पनि असफल भएको भन्दै निराशा व्यक्त गरेका छन् । सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले राजनैतिक दलहरुको होडबाजीमा विमानस्थल निर्माण भएको बताए । उनले सरकारले उद्योगी व्यवसायीहरुलाई विमानस्थलमा सञ्चालनमा सहयोग पु¥याउनका लागि भौतिक पूर्वाधारहरु बनाउन गरेको आग्रह अनुसार करिब ८० अर्ब रुपैया लगानी गरे पनि हाल सो लगानी डुब्ने खतरा बढेको बताए ।
उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले पनि व्यवसायिक सम्भाव्यता अध्ययन नै नगरि विमानस्थल निर्माण गरिएको जस्तो भएको जिकिर गरे । उनले त्रिुभवन विमानस्थलबाट हुने अवैध काराबारमा काठमाण्डौंका केही व्यवसायीको सिण्डीकेट लागु भएको आरोप लगाउदै भैरहवाबाट त्यो गर्न नपाउने त्रासका कारण पनि विमानस्थल सञ्चालनमा आउन नसकेको दावी गरे ।
यस्तै सिद्धार्थ उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले अहिले भैरहवावासीको लागि विमानस्थलमा भएको भ्रष्टाचार भन्दा पनि विमानस्थल सञ्चालनको विषय नै प्रधान रहेको बताए । अहिले यहाँका बासिन्दाले भोगेको पिडा राजनैतिक दलहरुले अनुभूति नगरेको बताउदै विमानस्थल सञ्चालनको विषयलाई विषयान्तर गर्नको लागि भ्रष्टाचारको मुद्दा उठान गरेको श्रेष्ठले जिकिर गरे ।