भैरहवा । भैरहवामा रहेको श्री भानु माध्यमिक बिद्यालयको ४९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस एक कार्यक्रमका बिच शुक्रबार सम्पन्न भएको छ ।
यस क्षेत्रकै पुरानो मध्येको एक भानु माध्यमिक बिद्यालयको शैक्षिक गुणस्तर राम्रो भए पनि पूर्वाधारकै अभावमा अपेक्षित कार्य गर्न नसकेको कार्यक्रमका वक्ताहरुले बताए । सामुदायिक बिद्यालय तर्फ अभिभावकहरुको ध्यान नदिएको कार्यक्रमका वक्ताहरुको भनाई थियो । सिद्धार्थनगर नगर पालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि ईस्तियाक अहमद खाँनले आफ्ना बालबालिकाको पढाई प्रति अभिभावकले चासो राख्न आग्रह गरे । अहिले सामुदायिक विद्यालयहरुको गुणस्तर संस्थागत विद्यालयहरु बराबर रहेको बताउदै उनले भानु मावि यस क्षेत्रै अब्बल विद्यालयको रुपमा आफुलाई स्थापित गराएको उनले चर्चा गरे । विद्यालयहरुमा आवश्यक पर्ने कम्प्युटर प्रविधिहरुको उचित प्रयोग तथा आवश्यक पुर्वाधारहरु र तालिम प्राप्त लगनशिल शिक्षकहरुको कारण समुदायिक विद्यालयको शैक्षिक उपलब्धि बढ्दै गएको बताए । उनले समयको माग अनुसार प्राविधिक शिक्षालाई जोड दिदै दक्ष जनशक्ति उत्पादन गर्नु पर्ने बताए ।
सिद्धार्थनगर नगर पालिकामा सामुदायिक विद्यालयहरुलाई पालिकाले उच्च प्राथमिकतामा राखि बजेट बनाउने गरेको बताउदै उनले आगामी आर्थिक वर्षमा भानु मावि पूर्वाधार विकासमा बजेट छुट्टयाउने बताए ।
यस्तै सिद्धार्थनगरपालिकाको उप प्रमुख उमा अधिकारीले बच्चाहरु प्रति शिक्षक जतिकै अभिभावकहरुले ध्यान दिए मात्र शिक्षाको गुणस्तर सुधार हुने बताईन । उनले विद्यार्थीहरुको ईच्छा अनुसार नै अभिभावकहरुले उनिहरुको शिक्षा सुनिश्चित गर्नुपर्ने जिकिर गरिन ।
२०३३ सालमा स्थापना भएको भानु माध्यमिक बिद्यालयमा अहिले कक्षा ११ र १२ कानुन विषयको समेत अध्यापन भई रहेको छ । बिद्यालयमा ८०० भन्दा बिद्यार्थी अध्ययनरत् रहेको विद्यालयका प्रधान अध्यापक मोतीलाल सुवेदीले बताए । बार्षिकोत्वकै अवसर पारेर बिद्यालयका पूर्व शिक्षक, छात्रवृत्ति दाता तथा अन्य सहयोगीहरुलाई विद्यालयले सम्मान समेत गरेको थियो । यस्तै अध्ययनरत् बिद्यार्थीहरुलाई छात्रवृत्ति रकम समेत सोही कार्यक्रममा प्रदान गरिएको थियो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष फैज अहमद खाँनको अध्यक्षता, नगर प्रमुख ईस्तियाक अहमद खाँनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ का वडा अध्यक्ष शेषकान्त भण्डारी, शिक्षा तथा खेलकुद शाखाका प्रमुख चेतनशिल लम्साल, शिक्षा अधिकृत जान्हवी पाण्डे, पूर्व विद्यार्थी संजोगराज तिवारी लगायतले बोलेका थिए ।