नवलपरासी । नवलपरासीको सुस्ता गाउँपालिका–५, बलिनगरबाट प्रहरीले अवैध हतियारसहित गोलीगठ्ठा बरामद गरेको छ। विशेष सूचनाको आधारमा खटिएको सुरक्षा निकायको संयुक्त टोलीले स्थानीय ४६ वर्षीय श्रीराम पटेल भनिने श्रीराम कुर्मीको घरबाट उक्त हतियार बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक शिव कुमार क्षेत्री, प्रहरी चौकी रामनगर र सशस्त्र प्रहरी बल (बीओपी) बलिनगरको संयुक्त टोलीले पटेलको घरलाई घेरा हाली खानतलासी गरेको थियो। सो क्रममा घरको माथिल्लो तलामा लुकाई छिपाई राखेको अवस्थामा १२ बोरको एक नाले बन्दुक १ थान, २ थान कार्टिज र १ थान खाली खोका फेला परेको छ।
साथै, प्रहरीले सोही स्थानबाट केही छर्रा र छर्रा बनाउन प्रयोग गरिने खाँचो समेत बरामद गरेको छ। अवैध हतियार फेला परे पनि घरधनी श्रीराम पटेल भने हाल फरार रहेका छन्। प्रहरीले फरार रहेका पटेलको खोजी कार्यलाई तीब्र पारिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।