भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ परासीझुवास्थित श्री दुर्गा मन्दिर र श्री बृषेश्वर शिव मन्दिर परिसरमा यस वर्षको घटस्थापनादेखि एकजना स्थानीय पूजारीले १५ दिने कठोर व्रत सम्पन्न गरेका छन्। मन्दिरका ६१ वर्षीय पूजारी केशव खवासले घटस्थापना सुरु हुनु केही दिन अघिदेखि नै अन्न र पानी त्याग गरी व्रत बसेका थिए ।
घटस्थापनाको दिनदेखि खवासले आफ्नो शरीर वरिपरि जमरा राखेर भुइँमा सुतेका थिए। उनले १५ दिनसम्म अन्न, पानी, र मलमूत्र पूर्ण रूपमा त्यागेर विश्वका सबै जनताको कल्याण होस् भन्ने कामना गर्दै यो कठोर व्रत बसेको बताएका छन्। खवासले यसअघि दुई वर्षअघि पनि यसैगरी पानीसमेत नखाई व्रत बसेका थिए, जुन उनको दोस्रो पटकको यस्तो व्रत हो।
१५ दिनसम्म चलेको यो व्रतको समापनमा रोहिणीका युवा नेता राजकुमार यादवले पूजारी खवासलाई जुस खुवाएर व्रत तोडाएका थिए। परासीझुवामा रहेका यी दुई मन्दिर ऐतिहासिक धार्मिकस्थलका रूपमा चिनिन्छन्, जहाँ भैरहवा, परासी र छिमेकी राष्ट्र भारतबाट समेत भक्तजनहरू दर्शनका लागि आउने गर्दछन्। मन्दिरलाई अझ व्यवस्थित गर्न सके सांस्कृतिक संरक्षणमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।