गौडामा सेवा केन्द्र सञ्चालन

रासस 477+ समाचार ( )
१० वैशाख २०८३, बिहीबार

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ मा स्थानीय नागरिकलाई सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले सेवा केन्द्र सञ्चालनमा आएको छ । भौगोलिक जटिलता तथा वडा कार्यालयसम्म पुग्न कठिनाइ भोग्दै आएका कालापात्ला, पोखेडाँडा, बाहाखोला, नयाँथरी, चिदेरी, पिडाल्ने, सतिनेटा, गौडा र भेडाबारी झाँक्रीटोलका सेवाग्राहीले सहजरुपमा सेवा पाउने छन् । सेवाग्राहीलाई लक्षित गर्दै गौडामा हरेक महिनाको १० र २१ गते सेवा प्रदान गर्नेगरी केन्द्र स्थापना गरिएको वडासचिव प्रदीप आचार्यले बताउनुभयो । 

वडा कार्यालयबाट प्रदान हुने नागरिकता सिफारिस, अन्य सिफारिस, राजस्व सङ्कलन, जन्म तथा मृत्यु दर्ता, बसाइँसराइ, सम्बन्ध विच्छेदलगायतका अत्यावश्यक सेवा तोकिएको समयमा सोही स्थानबाटै उपलब्ध हुने वडाध्यक्ष श्रीधर महत्राले बताउनुभयो । यसबाट दुर्गम क्षेत्रका बासिन्दालाई समय, खर्च र श्रम बचत गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । सेवा केन्द्रको उद्घाटन गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले कर्मचारी अभावका बाबजुद पनि गाउँमै सेवा विस्तार गर्ने प्रयास प्रशंसनीय रहेको बताउनुभयो । सेवा केन्द्र सञ्चालनसँगै सो क्षेत्रका बासिन्दाले अब आफ्नै गाउँमा सरकारी सेवा प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार