भैरहवा । ‘हाम्रो सिद्धार्थनगर’ पाठ्यपुस्तक तयार भएको छ । नगरभित्र संचालित विद्यालयहरुमा लागु गर्न थालिएको स्थानीय पाठ्यपुस्तक ‘हाम्रो सिद्धार्थनगर’लाई अन्तिमरुप दिन गृहकार्य भइरहेको जनाइएको छ । पालिकामा रहेका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरुमा कक्षा १, २, ३, ४ र ७, ८ मा पाठ्यपुस्तक पठकपाठन गराउने गरी अन्तिमरुप दिन लागिएको शिक्षा शाखा प्रमुश चेतनशील लम्सालले जानकारी दिए ।
पाठ्यक्रम यसअघि नै तयार पारिएको थियो । बीचमा कोरोना महामारी सुरु भएपछि केही समय पछाडि धकेलिएको थियो । यो बीचमा विद्यालयहरुले पाठ्यक्रम विकास केन्द्रले तोकेको अधिनमा रही नगरपालिकासँग सहकार्य गरेर विद्यार्थीहरुलाई स्थानीय पाठ्यपुस्तक पढाउँदै आएका थिए । नगरपालिकाले किताब छपाएर सबै विद्यालयमा पुर्याएर विद्यार्थीको हातहातमा उपलब्ध गराउने गरी पाठ्यपुस्तकलाई अन्तिमरुप दिन लागेको हो ।
नगरपालिकाले पुस्तकलाई परिमार्जनसहित अन्तिमरुप दिनका लागि सरोकारवाला पक्षबाट सुझाव संकलन गरेको छ । तयार पार्न लागिएको हाम्रो सिद्धार्थनगर पाठ्यपुस्तकका लेखक तथा परामर्शदाता प्रेमनारायण भुसालले राष्टिय पाठ्यक्रमले समेट्न नसकेका बिषयबस्तुलाई स्थानीय पाठ्यपुस्तकले समेटनु पर्ने बताए । उनका अनुसार, उक्त पाठ्यपुस्तकमा सिद्धार्थनगर क्षेत्रको पहिचान दिने खालका भौगोलिक, सामाजिक, राजनीतिक, धार्मिक, साहित्य, कृषि, स्वास्थ्य, खेलकुद, आर्थिक, पर्यटकीय पहिचान दिने बिषयबस्तुलाई समेटिएका छन् । ‘यो पाठ्यपुस्तक बालमैत्री, समावेशी र स्थानीय आवश्यकतामा आधारित रहेर तयार पारिएको छ’, भुसालले भने, ‘खोज अनुशन्धान, मनोरञ्जनात्मक, बातावरण र बालवालिकाको भावानात्मक, संवेगात्मक सिप विकास गर्ने क्रियाकलापमा पनि जोड दिइएको छ ।’
विद्यालय तहबाटै स्थानीयस्तरको विषयमा जानकारी गराउने उद्देश्यसहित यस्तो पाठ्यक्रम निर्माण गर्ने गरिन्छ । याठ्यक्रमको उद्देश्य बालबालिकालाई स्थानीय भूगोल, सम्पदा, परम्परा, पर्यटन, सीप तथा रोजगारको विषयमा जानकारी गराउनु हो । नगर प्रमुख इश्तियाक अहमद खाँले शैक्षिक उद्देश्य प्राप्तीका लागि सञ्चालन गरिने योजना तथा कार्यक्रमलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउने गरी जाठ्यपुस्तक तयार भएको बताए । ‘पाठ्यक्रममा मैले बुझेअनुसार सबै कुराहरु समेटिएका छन् । गहन अध्ययन र परामर्शमा पुस्तक लेखिएको मेरो बुझाई हो’, उनले भने, ‘पुस्तक विद्यार्थीको हातहातमा पुग्नु अघि केही विषय छुट भएकी भन्नेबारे हामी सचेत भएर सुझाव संकलन गरिरहेका छौं ।’ उनले आफ्नो गाउँटोल र पालिकाबारे सानैबाट विद्यार्थीले जान्न र बुझ्न पाउँदा भोलिका दिन अझै दक्ष बन्ने विश्वास व्यक्त गरे ।
केन्द्रीय पाठ्यक्रमले समेट्न नसकेका र स्थानीय आवश्यकता र विषयवस्तुका आधारमा स्थानीय मौलिकता, पहिचान र महत्वलाई बुझाउन हाम्रो सिद्धार्थनगर पाठ्यपुस्तकलाई अन्तिम रुप दिन लागिएको प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जनाए । ‘हामीले असारभित्रै सुझाव संकलनबाट उठेका विषयवस्तुहरु सम्बोधन गरी पुस्तक विद्यार्थीको हातहातमा पुर्याउने तयारीका लागेका छौं’, उनले भने, ‘यसका लागि नगरपालिकाको टिम र यसमा संलग्न सबै विज्ञको उत्तिकै अहम् भूमिकाले काममा तिव्रता हुनेछ ।’
सुझाव संकलनमा सहभागीले उक्त पाठ्यपुस्तक लागु गरिनु प्रशंसनीय भए पनि केही कुराहरु परिमार्जन गरिनु पर्नेमा जोड दिएका थिए । उक्त पाठ्यपुस्तकलाई अन्तिमरुप दिन समितिको गठन गरि जिम्मेवारी दिइएको छ । पाठ्यपुस्तकमा सिद्धार्थनगरका हरेक क्षेत्रलाई समावेस गरिएको जनाइएको छ ।