भैरहवा । रुपन्देही जिल्लाको मायादेवी गाउँपालिकामा एक जनाको हत्या भएको छ । मृत्यु हुनेमा मायादेवी गाउँपालिका वडा नम्बर २ बस्ने २९ वर्षिय राकेश सिंह लोध हुन । उनको टाउकोमा चोट लागेको अवश्थामा बराण्डामै मृत अवश्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रञ्जित सिह राठौरले जानकारी दिए ।
राठौरले दिएको जानकारी अनुसार मृतक सिंहको आफ्नै दाजुसंग अंश विवाद रहि अंश मुद्दा चलिरहेको थियो । प्रहरीको पहिलो आशंका मृतकको दाजु प्रति नै रहेको र हाल उनि फरार रहेको राठौरले बताए । मृतकको शव पोष्टमार्टमको लागि भैरहवा स्थित भिम अस्पतालमा ल्याउन लागेको र यसबारे थप अनुसन्धान भईरहेको उनले जानकारी दिए ।
प्रहरीले टाउकोमा चोट लागेको बताए पनि स्थानियहरुले भने सिंहको गोली प्रहारबाट मृत्यु भएको जानकारी दिएका छन् । राती गोली चलेको र सिंहको टाउकोको चोट गोली प्रहारकै रहेको स्थानियहरुको दावी रहेको छ । तर प्रहरी प्रमुख राठौरले भने यसलाई अहिले नै गोली प्रहार भएको पुष्टि गर्ने आधार नभएको बताए । उनले पोष्टमार्टम पछि मात्र मृत्युको यकिन कारण थाहा हुने जानकारी दिए ।