बुटवल । १० वर्ष सम्म अलपत्र पारेर जनजीवन कष्टकर गराउनु भन्दा कच्ची बाटो नै ठिक थियो ,यो भनाई बुटवल उपमहानगरपालिका -११ नहरपुरमा बसोबास गर्ने कमला पाठक भुसालको हो । गर्मीमा सास फेर्न मुस्किल पर्ने धुलो वर्खामा चिप्लिएर लड्ने हिल्लामे बाटोको कारणले सास्ती भोग्नुपरेको उनको भनाई छ ।
सीता रजाली बुटवल ११ रमाइलो पथमा बस्छिन् ।उनको मोटरसाइक हिलोमा चिप्लिएर बाइक कुलोमा खस्यो । यहि खाल्डाखुल्डीले गर्दा दिनहुँ जसो दुर्घटना हुने गरेको उनले बताइन् । यो बाटो हेर्ने कस्को दायित्व हो हामिलाई थाहा छैन । यत्रो वर्ष हुँदा पनि अलपत्र हुँदा यो देशको हो कि हैनम हामी झै लाग्न लाग्यो उनले भनिन्।
यो बाटोमा विद्यालयको बस समेत पल्टिएको स्थानीय रिता भट्टराईले बताईन।संघले हो कि प्रदेश हो कि उपमहानगरपालिका जस्ले गर्ने भए नि यो सडक छिटो भन्दा छिटो निर्माण सम्पन्न गर्न अनुरोध गरिन।स्थानीय मात्र होइन यहाँका व्यापारीहरु पनि कम मारमा परेका छैनन्। सो सडक खण्डमा पर्ने व्यापारीहरुको व्यापारमा निकै ह्रास आएको छ।
सडक राम्रो नभएको कारण यो बाटोमा अटो रिक्सा पाउन पनि गाह्रो छ।पाए पनि भाडा महङ्गो हुने गर्छ। आयुस गौतम २७ वर्ष भए। उनी युएई बसेर रिक्सा किन्ने पैसा जम्मा गरेपछि नेपाल फर्केका हुन । उनी बेलबास बेताहानी सडकमा रिक्सा चलाउछ्न । उनले कमाई भन्दा बढी रिक्सा मर्मतमा पैसा गएको कारण रिक्सा बेचेर फेरि पनि वैदेशिक रोजगारीमा जाने निर्णय गरेको बताए । सिता रजाली,कमला पाठक, रिता भटराइ र आयृस गौतम प्रतिनिधि पात्र हुन ।
१० वर्षअघि निर्माण सुरु भएको रुपन्देहीको बेलवास बेथरी पर्यटन मार्ग निर्माण पूरा नभएपछि स्थानियले सास्थी भोग्न परेको छ । बुटवलको बेलवासबाट बेथरी जाने यो सडक संघीय सरकारको अनुदान कार्यक्रमअन्तर्गत सडक विभागले २०७३ सालमा २१ किलोमीटर सडक बिस्तारको ठेक्का लगाएको थियो । जस मध्य बुटवल र बेताहनी साढे ८ किलोमीटर प्याकेजको निर्माण गर्ने ठेक्का बज्रगुरु कान्छाराम जेभिले लिएको थियो ।
दक्षिण तर्फको दुई वटा प्याकेजको काम सम्झौताको ३ वर्षमै सकिएको हो तर ,उत्तर तर्फको खण्ड अर्थात फस्ट प्याकेज १० वर्ष सम्म पनि पूरा हुन सकेको छैन । साढे ८ किलोमिटर सडक मध्य अब २ किलोमीटर मात्र कालोपत्रे हुन बाकी रहेको छ। बज्रगुरुले यो प्याकेज २०७६ असार मसान्तसम्म सक्नुपर्ने थियो तर छ पटकसम्म म्याद थप्दै २०८१ चैतसम्म सम्पन्न गर्ने सीमा बढाइएको भएपनि अहिलेसम्म काम पूरा भएको छैन ।
स्थानीय बासीहरुमा सडक निर्माण कार्य अलपत्र भएपछि निराशा छाएको छ। निर्धारित समयमा काम सम्पन्न नहुँदा बेलबास बेथरी सडकखण्ड अन्तर्गत बुटवल उपमहानगरपालिकाको नहरपुर र रानीगन्ज क्षेत्रका बासिन्दा पानी पर्दा हिलो र सुक्खा याममा धुलोको मारमा परेका छ्न । सुरुदेखि नै यो सडकले विभिन्न समस्या भोग्दै आएको थियो जग्गाको ,दुवैतर्फको सडकको विद्युत पोल स्थान्तरणको, सिँचाइ कुलो र नहरको समस्या भोग्दै आएको थियो।
नमुना भनिएको यो सडक निर्माण अलपत्र परे पछि हैरान भएर दबाब दिन स्थानीयहरुले बिगत २ वर्ष अघि नै संघर्ष समिति बनाएर बिरोध गर्दै पटकपटक सडक कार्यलय,प्रमुख जिल्ला अधिकारी तथा लुम्बिनी प्रदेशका मुख्य मन्त्रीलाई समेत आग्रह गरेपनि सडक निर्माण काम सुचारु हुन नसकेको संघर्ष समितिका सचिव लेखनाथ गैरेले बताए।
उनले कम्तिमा बाटोमा भएको खाल्डाखुल्डी तत्कालै पुरेर र बाँकी रहेको काम छिटो भन्दा छिटो सुचारु गरि सम्पन्न नगरे पुनः आन्दोलनमा उत्रने बताए।समितिकै अगुवाईमा यसअघि नहरपुर ९ बेताहानी खण्डमा टिप्पर हिड्न रोक लगाएको थियो।
बीचमा नहर ,छेउछाउ दुई लेन सडक र त्यसको छेउमा हरियाली सहित डिजाइन गरिएको छ । ६० करोड ९१ लाख ९०,३८३ रुपैयाँमा ठेक्का सम्झौता गरेको बज्रगुरु कान्छाराम कन्स्ट्रक्सनले २४ करोड८२ लाख ७५ हजार भुक्तानी र १० करोड ५३ लाख रुपैयाँ पेस्की गरी ३५ करोड ३५ लाख ७५ हजार रुपैयाँ रकम लगेको छ। निर्माण कम्पनीले रकम भुक्तानी बढी लगेपनि सडक निर्माणको काम गुणस्तरीय र छिटो भएको छैन । त्यसैबीच केन्द्रले प्रदेशलाई हस्तान्तरण गरेको र प्रदेशले बजेट नछुट्टाएको कारण यो सडकको काम अगाडि नबढ्ने निश्चित भएको हो ।
पछिल्लो समय ठेकेदार प्रतिनिधि सम्पर्कमा नआएको र बहुवर्षीय योजनाअनुसार थप बजेट पनि नआएकोले सडक कालोपत्रे कल्भर्ट सडक पेटी निर्माण गर्ने लगायतका काम बाँकी रहेको सडक पूर्वाधार विकास कार्यालयका अधिकारीहरूको भनाई रहेको छ।
सडक पुर्वाधार विकास कार्यालय रुपन्देही प्रमुख लालु गिरिका अनुसार बेलबास बेथरी सडक खण्डको फस्ट प्याकेज अन्तर्गत पर्ने झण्डै ८ किलोमीटर सडक हो । तर दुबै तर्फ गर्दा १६ किलोमीटर हुने उनले बताए ।प्रदेश स्थापना नहुदै सडक डिभिजन बुटवल र संघको सम्झौता भएको हो। यो प्रोजेक्ट २०७८ मसिर २२ गते मात्र प्रदेशमा आएको हो आर्थिक वर्ष ७८र७९ मा यहि कार्यालय बाट केही काम भएको छ । अहिले सम्म यो आयोजनामा ६६प्रतिशत भौतिक प्रगति भएको छ।उत्तिनै बराबरको भुक्तानी पनि भएको बताए ।
बाटो कालोपत्रेको मात्र हेर्दा जम्मा २ किलोमीटर बाकी रहेको तर फुट्पात र साइकलिङ को काम अधिकाश बाकी रहेको उनले बताए । आर्थिक वर्ष ८०र८१ र ८१र८२ मा बजेट बिनियोजन नहुदा निर्माण कम्पनीलाई काम गर्न ताकेता गर्न गार्हो भएको हो तथापि निर्माण कम्पनीले काम गरिसकेपछि बजेटको व्यवस्था गर्छौ भनेर पटक पटक लिखित ,मौखिक ,माइन्युट ,छ्लफल गर्दा पनि काम नगरेको कारण यसलाई कार्बाही प्रक्रियामा लैजानको लागि निर्माण कम्पनी सङ्ग बाकी रहेको पेश्की रकम जफतको लागि नबिल बैक काठमाडौलाई पत्राचार गरेको भए पनि ८ महिना बितिसक्दा पनि बैंकले त्यो रकम दाखिल नगर्दिएको हुनाले रास्ट्र बैंकलाई पनि पत्रचार गरेको बताए ।
उनले भने ,पेश्की बापतको रकम जफत भए पछि कार्वाही प्रक्रिया अगाडि बढ्छ तर निर्माण कम्पनीले मैले गर्छु काम भन्यो भने पनि गर्न सक्छ नत्र फेरि ठेक्का तोडिन्छ र अर्को ठेक्का सम्झौता हुनेछ ।