भैरहवा । विगत केही दिनदेखि पश्चिमी हावासँगै बाक्लो हुस्सु तथा शितलहरी हुन थालेपछि रुपन्देहीमा अत्यधिक चिसो बढेको छ । चिसो बढ्दै गएपछि ग्रामीण बस्तीहरुको जनजीवन प्रभावित बन्दै गएको छ भने बजारमा चहलपहल समेत घटेको छ ।
अधिकांश क्षेत्रलाई बिहानैदेखि बाक्लो हुस्सु र कुहिरोले ढाक्ने गरेको छ । दिउँसोपख हुस्सु केही कम भएपनि घाम भने नलाग्ने गरेको रोहिणी गाउँपालिकाका स्थानीय जयप्रकाश यादवले बताए । बिहानैदेखि बाक्लो हुस्सु, शीतलहरसँगै चिसो हावा चल्दा जनजीवन कष्टपूर्ण रहेको र यो समयमा व्यापार समेत घटेका कारण व्यवसायी चिन्तित रहेको उनको भनाइ छ । चिसोले मानिस मात्र नभइ घरपालुवा जनावरलाई समेत समस्या भएको उनले बताए । चिसोका कारण पशुमा ज्वरो आउने, काँप्ने र रोगी हुने गरेको समस्याहरु हुने गरेको किसानहरु बताउँछन । बाक्लो कुहिरोले तेलहन, दलहन, आलु लगायतका खेतीमा पनि असर पुगेको छ ।
चिसो बढ्दा किसान र मजदुरलाई दैनिक कामकाज गर्न समस्या परेको छ । पुसको दोस्रो सातामा आएर बढेको चिसोले न्यानो कपडा नभएका परिवारको दैनिकी असाध्य कष्टकर बनेको हो । चिसोले स–साना बालबालिका, वृद्धवृद्धा र अशक्त प्रभावित भएका छन् भने अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ ।
जाडोबाट सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित हुने भएकाले स्वास्थ्यमा ख्याल गर्न चिकित्सकहरुले सुझाव दिएका छन् । अहिले अस्पतालमा दम, निमोनिया, ज्वरो, झाडापखाला लगायत स्वास्थ्य सम्बन्धी समस्या भएका बिरामीहरु आउने गरेको भीम अस्पताल भैरहवाका सूचना अधिकारी तथा बालरोग विशेषज्ञ डा.आरिफ हुसेनले जानकारी दिए ।