भैरहवा । आपसी सद्भाव र दिपावली पर्वलाई उल्लासमय बनाउने उद्देश्यले भैरहवाका युवा व्यवसायी रहिश खानले यस वर्ष पनि 'युनिक दिपावली फेस्टिभल २०८२' आयोजना गर्ने भएका छन् । हिन्दुहरूको महान् पर्व दिपावलीको अवसरमा लक्ष्मी पूजाको दिन, आउँदो कार्तिक ३ गते भैरहवाको मिलनचोकमा यो महोत्सव सञ्चालन हुनेछ।
यो महोत्सव खानको एकल लगानीमा आयोजना गरिएको दशौं शृङ्खला हो । आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै खानले भने, "आपसी सद्भाव र स्थानीय कलाकारको प्रबद्र्धन गर्दै तिहारको अनुभूति गराउन यस पटक पनि एकल लगानीमा दिपावली महोत्सवको आयोजना गर्ने भएको छु। महोत्सवका लागि करिब १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ, जुन सबै मेरो व्यक्तिगत हुनेछ।"
खानका अनुसार, लक्ष्मीपूजाका दिन साँझ ६ बजेदेखि १२ बजेसम्म मिलनचोकमा सञ्चालन हुने महोत्सवमा नृत्य, गायन लगायतका विभिन्न सांस्कृतिक कार्यक्रमहरू समावेश गरिनेछन्। यसले स्थानीय तथा नव कलाकारहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्नेछ ।
महोत्सवमा राष्ट्रिय तथा चर्चित कलाकारहरूको प्रस्तुति समेत रहनेछ, जसको नाम सरप्राइजको रूपमा महोत्सवकै बेला मञ्चबाट सार्वजनिक गरिनेछ। यस महोत्सवको सहजीकरण र समन्वयकारी भूमिका चेम्बर अफ कमर्श रुपन्देही (उद्योग व्यापार संगठन) ले गर्नेछ। रहिशले यो महोत्सवबाट भैरहवाको रौनकता बढ्ने, केही हदसम्म भए पनि आर्थिक चलायमान हुने, स्थानीय कलाकारले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाउने, सबै धर्मावलम्बी तथा समुदायबीच आपसी एकता तथा सद्भाव कायम रहने र मनोरञ्जन हुने अपेक्षा राखेका छन्।
"म मुस्लिम समुदायको युवा भए पनि सबै धर्मको आदर र सम्मान गर्छु," खानले भने, "मेरा धेरै साथीहरू हिन्दु समुदायका भएकाले चाडपर्वका बेला आपसमा मिलेर मनाउने गरिन्छ। सानो उमेरमा मेरो स्मृतिपटलमा रहेको भैरहवाको त्यो दिपावली पर्वको रौनकलाई फर्काउने कोशिस मेरो हो।"
महोत्सवमा भैरहवा लगायत आसपासका जिल्लाहरू र भारतबाट समेत करिब ५० हजार दर्शक आउने अनुमान गरिएको छ। उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष सचिन रोक्काले महोत्सवको पूर्व तयारीमा जुटिएको जानकारी दिए । साढे दुई दशकअघिसम्म भैरहवा दिपावलीको बेला निकै आकर्षक सहरका रूपमा गनिन्थ्यो ।
देवकोटा चोकदेखि बैंकरोड, मिलनचोक, प्रहरी टोल हुँदै नारायणस्थानसम्म सडकको दुवै किनारामा गरिने सजावटले सहर मनमोहक बन्ने गर्थ्यो र आन्तरिक तथा बाह्य पर्यटक भैरहवाको दिपावली हेर्न झुम्मिन्थे। तर, माओवादी युद्ध र भूमिगत मधेशवादी विभिन्न संगठनहरूको सक्रियता बढ्दै गएपछि त्यतिबेलाको दिपावलीको चमक र रौनक भैरहवाले गुमाउँदै गयो।
सामूहिक रूपमा गरिने दिपावलीको सजावट र लक्ष्मीपूजा घरभित्र सीमित हुन थाल्यो भने तिहारको अवसरमा गरिने विभिन्न सांगीतिक र मनोरञ्जनात्मक कार्यक्रमहरूमा पनि कमी आयो। बाल्यकाल मा भैरहवाको त्यो दिपावलीको रौनकलाई आफ्नो स्मृतिमा कैद गरेका रहिशले गुम्दै गएको भैरहवाको त्यो साखलाई फर्काउन निरन्तर लागिरहेका छन्। उनले भैरहवालाई केन्द्रित बनाएर विगत १८ वर्षदेखि साउन्ड र म्युजिकको व्यवसाय गर्दै आएका छन्, जुन नेपालभरि लोकप्रिय र ख्यातिप्राप्त छ।