मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |


महायज्ञ गर्ने भन्दै दलित डोमको घर भत्काइयो, अछुतको बहानामा माटो खनेर फालियो

Ujyalosandeshonline 11005+ समाचार ( )
७ चैत्र २०८१, शुक्रबार

राहुल राय 

सिरहा । सिरहाको औरही गाउँपालिकामा आगामी १७ चैतदेखि आयोजना गर्न लागिएको श्री श्री १०८ विष्णु महायज्ञ स्थलमा रहेको दीपक मरिक (डोम ) को घर भत्काएर हटाइएको छ । महायज्ञ आयोजना गर्ने स्थानमा अछुत डोम राख्न नहुने भनेर यज्ञका कर्ताधर्ता मानिएका महात्यागी बजरंगी बाबाले भनेपछि पालिका अध्यक्ष शिवजी यादवले पालिकाकै जेसिभी लगाएर मरिकको घर भत्काउन लगाएका थिए ।

मरिकको घर मात्र भत्काइएन अपितु अछुतले छोएको माटो भनेर दीपक मरिकको घरले चर्चेको स्थानको दुई फिट माटो खनेर समेत फालिएको छ । थातथलो भत्काएर मरिक परिवारलाई बिस्थापित गराइए पछि सुन्दर जनता माध्यमिक विद्यालय औरहीको जग्गाको २ धुर जग्गामा (एक कुनामा) दुई कोठाको फुसको घर बनाएर राखिएको छ ।

विगत ३० वर्षदेखि मरिक परिवारको थातथलो रहेको स्थानमा जनता आवास कार्यक्रमबाट ५ वर्ष अघि दुई कोठे पक्की भवन पालिकाले नै बनाइ दिएको थियो । आफ्नो आवास भत्काइएपछि मरिक परिवार विलखबन्दमा परेका छन् । ‘यो स्थानमा महायज्ञ गर्नुपर्ने छ, यहाँबाट तिमीहरु हट्नुपर्छ भनेर गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नं. ५ का पूर्ववडाध्यक्ष दिलीप यादवले दबाब दिएको पीडित दीपककी पत्नी अनिता मरिकले बताइन् ।

गहभरी आँशु पार्दै उनले भनिन्,‘हामी सपरिवार त्यहाँ हासीखुशी गुजारा गर्दै थियौ । हाम्रो त्यो घरमा हाम्रै बालबच्चाको नाभी जोडिएको, भावना जोडिएको थियो । तर अहिले हामीलाई यो एकान्त सुनसान ठाउँमा ल्याएर बस्न बाध्य बनाए । घर भत्काएर डंगुर बनाइदिए  । माया लाग्यो, मन थाम्न सकिन । एउटा–एउटा इटा टिपेर ल्याएँ–भग्नावशेष देखाउँदै अनिताले भनिन् । यज्ञ सुरु हुनु २० दिन अगावै मेरो थातबास उजाडियो । हामीलाई बिल्लीबाठ बनाइयो,’अनिताले भनिन्,‘म र मेरा श्रीमान् ड्युटीमा थियौंं । यता पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव जेसिभी लिएर आएछन् । घर भत्काउन थाले । चार दिनअघि छोराको बिबाह गरेर बुहारी भित्र्याएका थियौंं । नयाँ बुहारी र मेरा मसिना लालाबाला भएर सकेजति सामान झिकेछन् । झिक्न नभ्याएको सामान जति त्यही पुरियो ।’

घर भत्काएर लखेटिएकी अनिता मरिकको मुटु चिथोरिएको छ । उनी भक्कानिदै भन्छिन्,‘डोमको कोखमा जन्मेकै कारण आज हामीले यो छुवाछुतको अपमान र भुक्तमान भोग्नु परेको छ ।’ अनिता मरिकको अहिले कान्त विजोग छ । ‘नयाँ ठाउँमा खानेपानीको धारा छैन् । अछुत भनेर कसैले आँगन टेक्न दिदैनन् । चापाकलमा पानी भर्न दिदैनन् । चैतको चर्को घाम छ । तिर्खाले छटपटाउँछौं । त्यो पुरानो घरमा बिजुली थियो । मैले आफैले जडान गराएको चापाकल थियो,’उनले भनिन् ।

‘कप्टेरा जस्ता दुई चारवटा भाटा माथि पुरानो थोत्रो जस्ता हालेर घर ठड्याइ दिएका छन् । बिजुली छैन । गर्मी बढेसँगै सर्प निस्कन्छ । अध्याँरोमा डराइ डराइ रात काट्छौ,’अनिता भन्छिन्,‘दलित भएर बाँच्न कति कठिन छ । उनको मुटुमा शूल व्यथा छ । यहाँ बस भनेर झुप्रो हालिदिए तर यो जग्गा स्कूल को हो । स्कूलले जग्गा खली गर भनेपछि हाम्रो फेरि उठिबास हुन्छ । स्कूलको सहमति नलिई हामीलाई यहाँ जवरजस्ती बसाइएको छ ।’

अनिता भन्छिन्,‘नयाँ घर बनाइ दिएकाछौं भन्छन् तर यो ठाउँ वर्षायाममा बाढी बग्ने र तलाउ हुने ठाउँ हो । पालिकाको जेसिभी ल्याएर नदीबाट माटो कोपरेर अग्लो पारिदिए । वर्षायाममा यहाँ बालबच्चा लिएर कसरी बस्नु ? यहाँ ठूलो भल आउँछ । हाम्रो यो झुपडी एकै दिनमा बगाउँछ । यस्तो ठाउँमा झुपडी हालेर बस भने ।’

अनिताले दुखेसो पोख्दै भनिन् , “हामी गरिब छौ । पालिकामा मेरा श्रीमान् स्वीपर छन् । म स्वास्थ्य केन्द्रमा स्वीपरको काम गर्छु । पालिका अध्यक्षको कुरा नमान्दा हाम्रो जागिर जाने भयो । ” घर भत्कादिन्छौ , पर गएर बस भन्दा “हुन्छ मालिक ” भन्नै प¥यो । अनिताका छोरा अर्जुनले भने  के हामी मान्छे होइनौं ? हाम्रो घर त्यहाँ हुँदा यज्ञ गर्न कसरी अप्ठ्यारो हुन्थ्यो ? त्यहाँ अरु जातिहरुको घर भत्काइएन । डोम भएकै कारण हाम्रो घरमा डोजर चल्यो । अछुत भनेर त्यहाँको माटो समेत खनेर फालियो ।  

आमा अनिताको आँशु पुछ्दै आठ वर्षीय आकाश मरिकले रिपोर्टिङ्ग गर्न गएका पत्रकारहरुलाई सोधे–‘अहा सब के छियै ? ओई बाबाजीके पकैरक जेलमे धैर दियौं । उ हमर घर तोइर देलकै । (तपाईँहरु को हो ,त्यो बाबाजीलाई पक्रेर जेलमा हालि दिनुस् । उसले हाम्रो घर भत्काउन लगायो ।)’

दीपक र अनिता मरिकको १७ वर्षिय छोरा अर्जुन र नवबिबाहिता बुहारी, १३ वर्षकी छोरी किरण कुमारी १० वर्षकी छोरी प्रिती र सात वर्षीय छोरा आकाश मरिकसहितको सात जनाको परिवार छ । यस सम्बन्धमा पालिका अध्यक्ष शिवजी यादवलाई सोध्दा उनले मरिक परिवारको घर भत्काइ दिएको स्वीकार गरे । उनले भने,‘त्यहाँ कृषि बजार लगाउन तीन करोडमा टेण्डर लागेको छ । त्यहाँ चौतर्फी बाउण्ड्री वाल लगाउनु छ । त्यसकारण भत्काएको हो ।’

 घर भत्काए पनि अर्को स्थानमा पुनस्र्थापना गरिदिएको भन्दै यादवले भने,‘क्याम्पस बनाउन यज्ञ आयोजना गरिएको हो । सामाजिक भलाइको काम कै लागि हो । आफूले अछुत भनेर घर भत्काइएको छैन् । यस घटनालाई मिडियामा चर्काउन आवश्यक छैन् ।’ त्यसैगरी पूर्ववडाध्यक्ष दिलीप यादवले भने,‘हामीले घर भत्काए पनि अर्को घर बनाइ दिएका छौं । यसमा हाम्रो के गल्ती भयो त ?’पूर्ववडाध्यक्ष यादव हाल जनमत पार्टीका औरही पालिका अध्यक्ष हुन् ।

औरही पालिकामै घर भएका राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कवुली पासवानले भने,‘त्यहाँ पाँच घर दास तत्माहरुको घर छ । अरु कसैको घर भत्काइएन तर एक घर मरिक (डोम) को घर भत्काइयो । घर मात्र भत्काइएन त्यहाँको माटो समेत खनेर फालियो । बजरंगी बाबाले त्यो ठाउँ पवित्र गर्ने भन्दै जल छर्किए । यो सरासर छुवाछुतको अपराध हो ।’

उनले दोषी बजरंगी बाबा, पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव माथि कानून बमोजिम कारवाही गर्न सरकारसँग माग गरेका छन् । पासवानले राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय दलित आयोगको ध्यानाकर्षण गराउँदै घटनाको छानविन गर्न आह्वान गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार