परासी । पश्चिम नवलपरासीमा अत्यधिक गर्मी बढेपछि रामग्राम नगरपालिका र प्रतापपुर गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै दुई स्थानीय तहले पठनपाठन बन्दको घोषणा गरेका हुन् । प्रतापपुर गाउँपालिकाले शुक्रबारदेखि आइतबारसम्म तीन दिनका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले दैनिक बढ्दै गएको गर्मीले बालबालिकाका लागि मौसम प्रतिकूल बनेकोले बिदा दिने निर्णय गरिएको जानकारी दिए । उनले आइतबारसम्म पनि मौसममा सुधार नआए बिहानी कक्षा सञ्चालन गर्ने वा अन्य वैकल्पिक व्यवस्था गरेर पठनपाठन सुचारु गरिने बताए । पहिलो त्रैमासिक परीक्षापछिको बिदा सकिएर विद्यालय खुलेको केही दिनमै गर्मीले गर्दा पुनः बन्द गर्नुपर्ने अवस्था आएको गाउँपालिकाले जनाएको छ ।
यसैगरी, रामग्राम नगरपालिकाले पनि शुक्रबार एक दिनका लागि सबै विद्यालयमा बिदा दिने घोषणा गरेको छ । नगरपालिकाको शिक्षा शाखाका अनुसार शनिबार सार्वजनिक बिदा परेको र आइतबार मौसमको अवस्था हेरेर विद्यालय सञ्चालनबारे निर्णय गरिनेछ ।
लामो समयदेखि पानी नपर्दा जिल्लामा गर्मी ह्वात्तै बढेको छ । यसले विद्यालय जाने बालबालिका र दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने वर्ग सबैभन्दा बढी प्रभावित भएका छन् । गर्मीको असर कृषि क्षेत्रमा पनि देखिएको छ । पानी अभावमा भर्खरै रोपेको धानका खेतमा चिरा पर्न थालेको छ । पछिल्लो केही दिनयता नवलपरासीसहित तराईका विभिन्न जिल्लाहरूमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ र स्थानीय तहहरूले विद्यालय बन्दजस्ता निर्णयहरू लिन थालेका छन् ।