भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाबाट हराएका ५ वर्षीय बालक दिव्यंश गिरी सिद्धार्थनगर नगरपालिकाको भैरहवामा फेला परेका छन् ।
रोहिणी गाउँपालिका वडा नं २ खोखरहनी निवासी बिन्दु गिरीका नाति तथा शैलेश गिरीका छोरा ५ वर्षीय दिव्यंश बेलुका ४ बजेतिर घर नजिकैबाट हराएका थिए । बालक एक्कासी बेपत्ता भएपछि परिवारजनले खोजीका लागि सर्वसाधारणमा अपिल गर्दै नजिकको प्रहरी कार्यालयमा खबर गरेका थिए ।
बालक हराएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गम्भीरतापूर्वक खोजतलास सुरु गरेको थियो । बालकको खोजीका लागि इलाका प्रहरी कार्यालय धकधई र जिल्ला प्रहरी कार्यालयबाट विशेष प्रहरी टोली परिचालन गरिएको थियो ।
खोजतलासकै क्रममा बालकलाई सिद्धार्थनगर नगरपालिका स्थित भैरहवा एयरपोर्ट (गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल) अगाडिबाट फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीले जानकारी दिएका छन् ।
रोहिणीको खोखरहनीबाट हराएका अबोध बालक कसरी भैरहवा एयरपोर्टसम्म पुगे भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालक सकुशल भेटिएपछि परिवारलाई जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको छ ।