भैरहवा । स्थानीय उत्पादनको प्रर्वधन गर्दै आएको र औद्यागिक हबको रुपमा रहेको रुपन्देही र सुर्खेत बिचको सहकायले उद्योगी व्यवसायी र देश कै अर्थतन्त्रमा टेवा पुग्ने दुबै क्षेत्रका उद्योगी व्यवसायीहरुले जोड दिएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ द्धारा आयोजित ९ औ लुम्बिनी राष्ट्रिय महोत्सवको अवसरमा मितेरी कार्यक्रममा बोल्दै दुबै क्षेत्रका उद्योगी व्यवसायीहरुले जोड दिएका हुन् । सोमबार सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष सहितको टोलि महोत्सव अवलोकनको लागि भैरहवा आएको थियो ।
रुपन्दही र सुर्खेतको प्रर्वद्धन र आत्मीयता बढाउनका लागि सो अवसरमा सिद्धार्थ उद्योग वाणिज्य संघ र सुर्खेत उद्योग वाणिज्य संघ बीच मितेरी सम्बन्ध कायम गरीएको छ ।
‘हमीले सुर्खेतमा स्थानिय उत्पादनको प्रर्वद्धन गर्दै आएका छौ र रुपन्देही औद्योगिक हबको रुपमा विकास भइसकेको छ’, आयोजित कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कडेंलले भने, ‘हामी दुई संघको सहकार्यले देशको अर्थतन्त्रमा टेवा पुग्छ नै साथै हाम्रो यो मित्रवत सम्बन्ध पनि सयौँ वर्षका लागि हुनेछ ।’
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले दुबै संघ बिचको मितेरी सम्बन्धले दुबै क्षेत्रको उद्योग व्यवसाय पर्यटन लगायतका क्षेत्रको प्रर्वद्धनमा टेवा पुग्ने बताउँदै, सम्बन्ध कायम भएकोमा खुसी व्यक्त गरे । उनले संघमा कुनै राजनैतिक हस्तक्षेप नरहेको र निष्पक्ष रुपमा उद्योगी व्यवसायीहरुको हकहितमा काम गर्दै आएको बताए ।
सिद्धार्थ उद्योगी वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यले लामो इतिहास बोकेको दुई उद्योग व्यवसायी संघको सहकार्य व्यवसायी सँगै पर्यटन प्रर्वद्धनमा समेत महत्वपूर्ण भूमिकामा रहने बताए । साथै, दुई क्षेत्रका उद्योगी व्यवसायीहरुको समस्या, चुनौती, अवसर र सम्भावनाका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्य, महाससचिव कृष्ण प्रसाद घिमिरे, सचिव मंगल भण्डारी, कोषाध्यक्ष कमल मरासिनी, लगायत र सुर्खेतबाट निर्वतमान अध्यक्ष धन बहादुर रावत, वरिष्ठ उपाध्यक्ष गणेश कुमार बस्नेत, वाणिज्य उपाध्यक्ष प्रेम बहादुर रावत, उद्योग उपाध्यक्ष सिंह राज बम, महिला उपाध्यक्ष तारा रावत, महासचिव भद्र भण्डारी, उपमहासचिव कृष्ण प्रसाद सुवेदी, कोषाध्यक्ष राम प्रसाद पाण्डे लगायतको उपस्थिती रहेको थियो ।