भैरहवा । सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ५ र १३ पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा भएको छ । आवश्यक सबै मानकपूरा गरी दुवै वडा पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा भएको हो ।
शुक्रवार दुवै वडाद्धारा संयुक्त रुपमा आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले वडा नम्बर ५ र १३ पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख खाँले वडावासी, कर्मचारी, स्वंयसेविका लगायत सबैको सहयोगले दुवै वडालाई एक साथमा घोषणा गर्न पाइएको बताए । दुवै वडाका महिलाहरु गर्भवती भए देखि लिएर सुत्केरी हुदाँसम्म नियमित जाँच गराउने, अस्पतालमा सुत्केरी हुने लगायत सबै मानक पुरा गरेर आफ्नो वडालार्इं घोषणा गराउनमा महत्वपूर्ण भुमिका निर्वाह गरेकोमा धन्यवाद व्यक्त गरे । उनले नगरपालिकाले महिला सशक्तिकरण, रोजगारी लगायतको लागि अधिक कार्यहरु गरिरहेको र गर्दै जाने बताए ।
समाजसेवी नारायणप्रसाद अग्रवालले दुवै वडा पूर्ण संस्थागत प्रसुती सेवायुक्त घोषणा भएकोमा ठुलो उपलब्धी भएको बताउँदै अन्य वडाहरु पनि छिट्टै घोषणा हुनेमा विश्वास व्यक्त गरे ।
कार्यक्रमको अध्यक्ष एवं वडा नम्बर ५ का वडाअध्यक्ष पुरनप्रसाद श्रेष्ठले वडा कार्यालयले महिला लक्षित कार्यक्रम गरिरहेको र महिलाहरु लाभन्वित हुन आग्रह गरे । उनले रोजगारी सिर्जनाका लागि नगरपालिकाको साथै वडाले कार्यक्रमहरु ल्याइरहेको उल्लेख गर्दै कार्यक्रममा समावेश हुन आग्रह गरे ।
वडा नम्बर १३ का वडाअध्यक्ष सोमबहादुर गुरुङले वडालाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा गराउनका लागि सहयोग गर्ने सबै वडावासीलाई धन्यवाद व्यक्त गरे ।
सोही अवसरमा वडा नम्बर ५ र १३ को आधारभुत स्वास्थ्य सेवा केन्द्रको इन्चार्ज प्रकृति खत्री र अनमी सीमा श्रेष्ठलाई प्रमाण पत्र सहित सम्मान गरिएको छ । यस्तै वडा नम्बर ५ का महिला स्वंयसेविका पूजा पाण्डे, राधिका तेली, माया तेली, लक्ष्मी माली र वडा नम्बर १३ का विष्णुमाया शाक्य, सरस्वतीराज भण्डारी, पुष्पा पुन, कविता शर्मा, पुनम शाक्य, विष्णुमाया थापालाई पनि प्रमाण पत्र सहित सम्मान गरिएको छ ।
वडा नम्बर ५ को वडा सदस्य सरस्वती श्रेष्ठको संचालन, वडा नम्बर १३ को वडा सदस्य सीता बुढापृथिको स्वागतमा सम्पन्न भएको कार्यक्रममा नगरपालिकाका प्रशासन प्रमुख देवप्रसाद ज्ञवाली, स्वास्थ्य शाखा प्रमुख गीतादेवी न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।