काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्घीय लोकतान्त्रिक मोर्चा गठनको अवधारणालाई अगाडि बढाउने कार्यलाई अनुमोदन गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकबाट सात दलीय मोर्चा गठन गर्ने सहमतिलाई अनुमोदन गर्ने निर्णय गरिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
त्यसैगरी जसपा नेपालले स्थानीय तहको अधिवेशन निर्धारित समयमै सम्पन्न गर्ने र भ्रातृसङ्गठनहरुका अधिवेशन÷महाधिवेशनलाई सम्बन्धित पार्टी समितिलाई आवश्यक सहयोग र समन्वयमा सफल गराउन मातहत समितिलाई निर्देशन दिइएको प्रमुख बस्नेतले बताए ।
पार्टीले समानताका लागि सङ्घर्ष गर्न परिसंघ गठन गर्न यही चैत्र ३० गते पार्टी केन्द्रीय कार्यालयमा बैठकको आयोजना गर्ने भएको छ । साथै बैठकले सर्लाही जिल्लामा पार्टीभित्र देखा परेका समस्या र गतिरोधलाई अन्त्य गर्न पार्टी केन्द्रीय उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवलाई विशेष जिम्मेवारी दिइएको बताइएको छ ।