भैरहवा । लुम्बिनीको पडरियामा जारी ईण्डो–नेपाल क्रिकेट प्रतियोगिताको फाईनलमा आयोजक लुम्बिनी नव युवा क्लब र भारतको पूर्वाघाट स्टार क्रिकेट टिम फाईनलको लागि भिड्ने भएका छन् ।
माघ २३ गते भएको पहिलो सेमीफाईनलमा आयोजक लुम्बिनी नवयुवाले ग्राण्ड कस्मोलाई र २५ गते भएको दोश्रो सेमीफाईनल खेलमा पूर्वाघाट स्टारले पिएनयस सिद्धार्थनगरलाई हराउदै फाईनलको यात्रा तय गरेका हुन् ।
पहिलो सेमीफाईनल खेलमा टस जितेर ब्याटिङ गरेको ग्राण्ड कस्मोले निर्धारित १५ ओभर मध्ये १३ दशमलव २ ओभर खेलेर आफ्नो सबै विकेट गुमाउदै १०४ रन बनाएको थियो । उसका लागि अमित पाठकले २४ रन, दिप सिंहले १६ रन तथा बिष्णु पाण्डे र आदिल अन्सारीले १२÷१२ रन बनाएका थिए ।
बलिङमा लुम्बिनी नवयुवाका गंगेशले ३ विकेट तथा अमृत, यम र प्रदिपले समान २÷२ विकेट लिएका थिए ।
१०५ रनको लक्ष्य लुम्बिनी नव युवा क्लबले ११ दशमलव २ ओभरमा मात्र २ विकेटको क्षतिमा भेट्टाएको थियो । उसका लागि जावेदले मात्र २७ बल खेल्दै ४ छक्का र २ चौकाको मद्दतमा अविजित ३८ रन बनाएका थिए । यस्तै मनौवरले २४ बलमा ५ छक्काको मद्दतमा ३६ रन र बसीर अहमदले २३ रन बनाएका थिए ।
ग्राण्ड कस्मोका बलर बैतुल्लाह र रुपेशले १÷१ विकेट लिएका थिए ।
बिहिबार सम्पन्न दोश्रो सेमीफाईनल खेलमा पूर्वाघाट स्टारले पिएनयस सिद्धार्थनगरलाई २६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको पूर्वाघाटले १५ ओभर पुरा खेल्दै ४ विकेटको क्षतिमा २१२ रनको बिशाल योगफल बनाएको थियो । उसका दुई ब्याटरले अर्धशतकिय पारी खेलेपछि पूर्वाघाटको फाईनलमा स्थानमा पक्का भएको थियो । पूर्वाघाटका बिष्फोटक ब्याटर रिंकुले मात्र ४१ बलमा ८ छक्का र ८ चौकाको मद्दतमा ९२ रन बनाए । अर्का ब्याटर प्रदिपले पनि २३ बल खेल्दै ६ छक्का र ३ चौकाको सहयोगमा ५५ रन बनाए । यसै गरि पूर्वाघाटका ब्याटर विनयले ३३ रन र बिजयले १७ रन बनाए ।
बलिङमा पिएनयस सिद्धार्थनगरका रिंकु, सचिन, लालु र आलोकले समाना १÷१ विकेट लिए ।
२१३ रनको बिशाल लक्ष्य सहित मैदान आएको पिएनयस सिद्धार्थनगरको टिम निर्धारित ओभरमा १८६ रनमै ६ विकेट गुमाउदै समेटिएको थियो । उसका लागि रिंकुले अर्धशतकिय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् । पिएनयस सिद्धार्थनगरका अर्का ब्याटर अभिषेक आविजित ३१ रन र मोनुले २८ रन बनाए ।
बलिङमा पूर्वाघाटका सोहनले २ विकेट र अजय, गोलु, विजय र श्यामले समान १÷१ विकेट लिए ।
सेमीफाईनलमा विजयी दुबै टिम माघ २७ गते शनिबार हुने खेलमा पडरीया मैदानमा भिडने छन् । माघ १३ गते देखि सुरु भएको ईण्डो–नेपाल क्रिकेट प्रतियोगिता पडरीयामा भएको पडरिया लुम्बिनी प्रिमियर लिगको छैठौं संस्करण हो । यसमा नेपालका १६ र भारतका १६ गरि कुल ३२ टिमको सहभागीता रहेको थियो ।
प्रतियोगिताको बिजेताले २ लाख रुपैया तथा उप–विजेताले १ लाख रुपैया पाउने आयोजक लुम्बिनी नवयुवा क्लबका अध्यक्ष अहमद हुसेनले जानकारी दिए । यस्तै बेस्ट बलर, बेष्ट ब्याटर, म्यान अफ द म्याच, अनुशासित टोली लगायत सेमी फाईनल पुग्ने अन्य टोलीलाई पनि पुरस्कारको ब्यवस्था रहेको उनको भनाई छ ।