भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ६ ले विद्यार्थीहरुको शिक्षण सिकाईमा सुधार ल्याउन एक उदाहरणीय अभियान सुरु गरेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यका साथ वडाले 'घरदैलो तथा सुक्ष्म शिक्षण' अभियानलाई निरन्तरता दिएको हो ।
यसै अन्तर्गत श्री शमसेर स्मृति आधारभूत विद्यालयका विद्यार्थीहरुको घर-घर तथा टोल-टोलमा शिक्षक र जनप्रतिनिधिहरु पुगेका छन् । अभियानको दोस्रो चरणमा विद्यार्थीहरुले गृहकार्य गरे-नगरेको अनुगमन गर्ने, उनीहरुलाई नयाँ गृहकार्य दिने तथा पढाइमा आइपरेका समस्याहरुबारे सुक्ष्म शिक्षण क्रियाकलापमार्फत सहजीकरण गरिएको छ ।
अभियानका क्रममा विद्यार्थीहरुको पढाइको अवस्थाबारे अभिभावकहरुसँग प्रत्यक्ष सरसल्लाह र अन्तरक्रिया समेत गरिएको छ । आफ्ना बालबालिकाको शैक्षिक प्रगतिमा अभिभावकको भूमिकाबारे चेतनामूलक जानकारी दिँदै घरमा पनि पढ्ने वातावरण बनाउन आग्रह गरिएको छ । यस कार्यक्रमले विद्यालय, विद्यार्थी र अभिभावकबीचको त्रिकोणात्मक सम्बन्धलाई थप बलियो बनाएको छ ।
वडा नम्बर ६ का वडाअध्यक्ष शिवकुमार धवलले यो अभियान विद्यार्थीको भविष्य उज्ज्वल बनाउन केन्द्रित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, "हाम्रो उद्देश्य विद्यालयको कक्षाकोठामा मात्र सीमित नभई घरको सिकाइलाई पनि प्रभावकारी बनाउनु हो । जबसम्म अभिभावक जागरुक हुनुहुन्न, तबसम्म शैक्षिक सुधार सम्भव छैन ।" उहाँले यस पवित्र अभियानमा आ-आफ्नो ठाउँबाट सहयोग गर्न सम्पूर्ण वडावासी, शिक्षक तथा सरोकारवालाहरुलाई आग्रह समेत गर्नुभएको छ ।
विद्यालयका शिक्षकहरु विद्यार्थीको घरमै पुगेर उनीहरुको पढाइको अवस्थाबारे जानकारी लिँदा अभिभावकहरु उत्साहित भएका छन् । यस नौलो र प्रभावकारी अभियानले विद्यार्थीको शैक्षिक स्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
धेरै राम्रो छ
धेरै राम्रो छ
Great job, I proud ,