भैरहवा । महिला उद्यमीको विकास, विस्तार एवं प्रवद्र्धनका साथै महिला सशक्तिकरणमा सहयोग पुर्याउने उद्देश्य सहित शुक्रबार देखि भैरहवामा दुई दिने राष्ट्रिय महिला उद्यमी सम्मेलन सुरु भएको छ ।
महिला उद्धमीबीच भेटघाट र परिचयको माध्यम गराई उनिहरुबाट उत्पादित वस्तुहरुको बजारीकरण गर्ने उपायको खोजी समेत गर्ने सम्मेलनको उद्देश्य रहेको छ । सरकारको निती तथा देशभरिका वित्तिय संस्थाका व्यवस्थामा अझैपनि महिलाको पहुंच हुन नसकेकाले महिला उद्यमशिलता बढ्न नसकेको कार्यक्रमको प्रारम्भिक निष्कर्ष रहेको छ । यस बिषयमा समेत सम्मेलनमा व्यापक छलफल गरि समाधान खोज्ने जमर्को सहित कार्यक्रम आयोजना गरिएको आयोजकले बताए ।
कार्यक्रमको संयोजक समेत रहेकी नेपाल उद्योग बाणिज्य महासंघको महिला उद्यमी विकास समितिकी संयोजक कमला श्रेष्ठले नेपाल उद्योग बाणिज्य महासंघले पहिलो पटक राष्ट्रिय महिला उद्यमी सम्मेलनको आयोजना गरेको बताइन । “सम्मेलनमा सातैवटा प्रदेशबाट ठूलोमा मात्रामा महिला उद्यमीहरुको जमघट रहेको छ,” श्रेष्ठले भनिन् “यसको मूख्य उद्देश्य नै देशैभरि छरिएर रहनुभएका महिला उद्यमीहरुको पहिचान र उत्पादीत बस्तुहरुको बजारीकरण गर्नु हो ।”
श्रेष्ठले महिला उद्यमीहरुको चुनौती, ब्यवसाय गर्दाको समस्याहरुको समाधान निस्किने गरि छलफल गरिने बताईन । सम्मेलनमा बिभिन्न ५ बुंदामा प्यानल बनाई छलफल गरिने र त्यसको निचोडलाई दस्तावेजको रुपमा सरकार समक्ष पेश गरिने उनले जानकारी दिईन । महिला उद्यमशिलता र नतिजा, बित्तीय पहुँच, बजार पहुँच, पर्यटनका सम्भावना र चुनौती तथा युवा महिला उद्यमको स्टार्टअपका लागि गरिएका पहल साथै भएका बिषयमा बिज्ञसहितको घुट्टाछुट्टै प्यानल छलफल गरिने छ ।
“घरायसी कामकाजमैं सिमित हुने गरेका महिलालाई उद्यमी बन्ने अवसर प्रशस्त हुँदा पनि महिला उद्यमीको रुपमा अगाडि बढ्न सकेका छैनन्”, श्रेष्ठले भनिन् “उद्यमशिलताका लागि अवसर दिइँदा पनि घरबाट निस्किन नचाहने र निस्कन चाहे पनि एक्लै आउन नचाहने समस्या छ, त्यस्ता महिलालाइ सशक्तिकरण गराई शिक्षासहितको आत्मबल प्रदान गर्नु पनि सम्मेलनको उद्देश्य हो ।”
नेपालको अर्थतन्त्रमा महिलाहरुको पूर्ण रुपमा सहभागीता होस भन्ने अपेक्षा राखेको नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए । महिलाहरु किन ओझेलमा परेको र उहाहरुलाई काम गर्ने वातावरण किन बन्न सकेको छैन भन्ने पहिचान गरि काम गर्ने वातावरण तयार गर्नु नै सम्मेलनको उद्देश्य रहेको उनले बताए । “महिलाहरु उद्यमीहरुलाई कुन–कुन अवरोधहरु रहेका छन्, कहाँ रोकावट भएको छ यसको पहिचान गरिने छ,” शर्माले भने “बित्तिय पहुँच पुगेको छैन कि, बजारमा पहुँच पुगेको छैन कि अथवा अन्य निकायहरुले के गरिदिने हो भन्ने निक्र्यौल समेत गर्नेछौं ।”
उद्यमशिलताको क्षेत्रमा महिला उद्यमीहरुको पहुँच नदेखिएको अवश्थामा यो सम्मेलनले महिला उद्यमीलाई उर्जाशिल बनाउने शर्माको भनाई छ । सम्मेलनमा सात वटै प्रदेशका महिला उद्यमीहरुको सहभागीता रहेको हुदा यसले उनिहरुबाट उत्पादित बस्तुहरुको बजारीकरणमा सहयोग पुग्ने शर्माको जिकिर रहेको छ ।
महिलाको नाममा घरजग्गा राख्दा छुट दिने योजना सफल भएको र करिब ३० प्रतिशत घरजग्गा महिलाको नाममा आएको छ । तर उद्यमशीलतामा दिइएको छुटले नतिजा दिन नसकेको कार्यक्रमका वक्ताहरुले बताए । दर्तामा राजश्व केहि छुट भएपनि व्यवसाय निरन्तरताका लागि सहुलियत दिन नसकेको उनिहरुको जिकिर रहेको छ । सहुलियत कर्जा पनि रोकिएको तर व्यवसाय निरन्तर चल्ने प्रक्रिया भएकोले नीतिगत स्थायित्व आवश्यक रहेको उनिहरुले बताए ।
नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुदै जादा विशेषगरि युरोप र अन्य विकसित मुलुकहरुमा नेपालले पाइरहेको भन्सार रहीत सुविधा बन्द हुने बताए । यसबाट साना र विशेषगरि महिला उद्यमीहरु बढि प्रभावित हुने उनको तर्क रहेको छ । “वैदेशिक रोजगारबाट हुने आयसगै पर्यटनको पनि मुख्य रहेकोले पर्यटन क्षेत्रमा महिलाहरुको सहभागिता र सुरक्षा पनि चासोको विषय हो ।” श्रेष्ठले भने “यी बिषयलाई हामीले सम्बोधन गर्नुपर्छ र सम्मेलनमा यो बिषय समेट्ने प्रयास गरेका छौं ।”
शुक्रबार कार्यक्रमको उदघाट्न गर्दै लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले महिला उद्यमीहरुका लागि प्रदेश सरकारले गर्ने सहकार्यका बारे प्रस्ता पेश गर्न आग्रह गरे । उहाले सम्मेलनबाट निष्केका निष्कर्षलाई प्रदेश सरकारले अगामी निति तथा कार्यक्रममा समेट्ने बताए ।
सम्मेलनमा नेपालको ७७ वटै जिल्लाबाट ३ सय जना महिला उद्यमी व्यवसायी तथा व्यवसाय संचालनका लागि इच्छुक महिलाको सहभागिता रहेको आयोजकले जानकारी दिएका छन् ।