अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गा नगरपालिका–८ स्थित झाक्रिथान सामुदायिक वनका अध्यक्ष डुकबहादुर खत्रीसहित १० जनालाई सालको रुख अवैध रूपमा काटेर चिरान गरिरहेको अवस्थामा १८.१३ क्युफिट चिरान काठसहित पक्राउ गरिएको छ ।
प्युठानको सरुमारानी गाउँपालिका–१, खुनझुनेमा सालको काठ चिरान गरिरहेको बेला डिभिजन वन कार्यालय प्युठानले उनीहरूलाई हिजो साँझ नियन्त्रणमा लिएको थियो। पक्राउ परेकाहरूलाई अनुसन्धानका लागि डिभिजन वन कार्यालय अर्घाखाँचीलाई बुझाइएको छ।
जिल्ला वन कार्यालय अर्घाखाँचीका अनुसार पक्राउ पर्नेहरूमा सामुदायिक वनका पूर्व अध्यक्ष हुमबहादुर वाकवल, शितगङ्गा–८ कै स्थानीय चन्द्रबहादुर वाकवल, टीकाराम पुलामी र पुरन धामी रहेका छन्। यस्तै, प्युठान जिल्ला सरुमारानी गाउँपालिका–१, खुनझुनेका लेखबहादुर केएम, सकुर मिया, वीरबहादुर धामी, शङ्कर विश्वकर्मा र एक जना नाबालिका पनि पक्राउ परेका छन्। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको अर्घाखाँची डिभिजन वन कार्यालयका निमित्त प्रमुख गणेशकुमार थारूले जानकारी दिनुभयो।