भैरहवा । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा तस्करहरु बिच क्षेत्र बाँडफाडमा कुरा नमिल्दा तस्करहरुले अर्को पक्षको तस्करको मोटरसाईकल जलाएका छन् । मायादेवी गाउँपालिका वडा नम्बर ५ गोनहामा बुधबार राती करिब १० बजे मोटरसाईकलमा आगजनी गरिएको छ । आगजनीको विषयलाई प्रहरीले पनि गुपचुप राख्ने प्रयास गरिरहेको छ ।
यस विषयमा रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक मनोहर भट्टलाई बुझ्दा उनले मोटरसाईकल जलेको भए पनि कसरी जलेको, कसको हो, किन जलाईएको विषयमा अनुसन्धान भईरहेको बताए ।
प्रहरी नायब उपरिक्षक भट्टले सुरुमा यस विषयमा आफुलाई जानकारी नै नभएको बताए । पछि उनले आफु अर्को काममा रहेको र अन्य शाखामा यस विषयमा टिपोट प्राप्त भएको बताउदै मोरसाईकलको विषयमा थप थाहा पाए जानकारी दिने बताए । प्रहरी चौकी मर्यादपुर अन्र्तगत आगजनी भए पनि घटनालाई गोप्य राख्ने प्रयास गरिएको छ ।
श्रोतका अनुसार अहिले मर्यादपुर अन्र्तगतको नाकामा बिर बहादुर जयसवाल र पिन्टु यादव नामका कारोबारीहरु बिच क्षेत्र बाँडफाँडको विषयमा द्धन्द्ध रहेको छ । यस अघि पटक पटक दुवै जनामा भनाभन भए पनि प्रहरीकै संलग्नतामा घटना साम्य बनाईएको थियो । बुधबार राती दुबै समूहको जम्काभेट भए पछि कुनै एक पक्षले अर्को पक्षको मोटरसाईकलमा आगजनी गरेको हो ।
यद्दपी झडप यादव र जयसवाल समूह बिच नै भएको पुष्टि भएको छैन । मर्चवारका त्रिलोकपुर नाका तस्करहरुको लागि प्रख्यात रहेको छ । यसै नाकाको विषयमा लिएर झडप भएको हो ।