सुस्ता । सुस्ता गाउँपालिकाको आर्थिक सहयोगमा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासी र परासी प्रेस क्लबको समन्वयमा सुस्ता गाउँपालिकाको वडा नं. १ मा "वायु प्रदूषणको संकट र हाम्रो साझा दायित्व" विषयक संवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमले वायु प्रदूषण न्यूनीकरणका लागि स्थानीय तहको जिम्मेवारी र नागरिकको सचेतनालाई जोड दिएको छ।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा नवलपरासीका अध्यक्ष राजेन्द्र अग्रहरीको अध्यक्षता र सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रम मा गाउँपालिकाका वडाध्यक्षहरू, नवलपरासी जिल्लाका पत्रकारहरू र स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले जलवायु प्रदूषण न्यूनीकरणका लागि पालिकास्तरबाट जनचेतनामूलक कार्यक्रमहरू आवश्यक रहेको बताउनुभयो। विशेषगरी तराई क्षेत्रमा धान, गहुँ र उखुजस्ता बाली थन्काइसकेपछि खेतमा आगो लगाउने परम्पराले वायु प्रदूषण बढाइरहेको उल्लेख गर्दै यसतर्फ पालिकाले सचेत गराउँदै आएको जानकारी दिनुभयो। उहाँले प्रदूषण न्यूनीकरण तथा सरसफाइका लागि प्रत्येक वडामा डम्पिङ साइट निर्माण गर्ने प्रयास भइरहेको र ग्रामीण क्षेत्रमा रहेका चिनी उद्योगबाट निस्कने फोहोरलाई व्यवस्थित गर्ने प्रयास गरिरहेको बताउनुभयो।
नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति राजेन्द्र प्रसाद अग्रहरीले यस्ता गम्भीर विषयलाई आम जनमानसमा पुर्याउन सञ्चार माध्यमले थप प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा रेडक्रस सोसाइटीको जलवायु परिवर्तनसम्बन्धी परियोजनाका संयोजक अनुप खड्काले वायु प्रदूषण न्यूनीकरण र यसले स्वास्थ्यमा पार्ने असरहरूबारे सहजीकरण गर्नुभएको थियो। उहाँले नेपालमा करिब ४२ हजार मानिसको मृत्युको कारण वायु प्रदूषणसँग जोडिएको तथ्याङ्क प्रस्तुत गर्दै यसको गम्भीरतामाथि प्रकाश पार्नुभयो।
परासी प्रेस क्लबका अध्यक्ष मोहन पौडेलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सहभागीहरूले वायु प्रदूषण नियन्त्रणका लागि स्थानीय तह नै जिम्मेवार भएर नीतिगत रूपमा अघि बढ्नुपर्ने धारणा राखेका थिए। विभिन्न फ्याक्ट्री तथा उद्योगहरूले गरिरहेको वायु प्रदूषणले वातावरणीय र मानवीय स्वास्थ्यमा गम्भीर असर पारेको भन्दै यसको दीर्घकालीन समाधान खोज्न आवश्यक रहेकोमा वक्ताहरूको जोड थियो।