भैरहवा । रुपन्देहीका पालिकाहरुको ११ औं घुम्ती बैठक बुधबार कञ्चन गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । घुम्ती बैठकमा बोल्ने पालिकाका प्रमुख तथा उपप्रमुखहरुले घुम्ती बैठकलाई प्रभावकारी बनाउनेतर्फ जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन ।
हरेक महिना बस्ने घुम्ती बैठकमा रुपन्देहीमा पालिकाहरुले विकास निर्माण लगायतका गतिबिधि लगायत समस्याका बिषयमा छलफल गर्ने गरिएको छ ।
बुधवारको छलफलमा राष्ट्रिय बन प्रदेशको एकल अधिकारको सूचीमा समावेश भएपनि प्रदेशले सामुदायिक वनलाई दोहोरो तेहोरो कर लगाउने काम गरेकोमा असन्तुष्टी ब्यक्त गरिएको थियो ।
त्यसैगरी घुम्ती बैठकका निर्णयहरु कार्यान्वयनमा लैजान जोड दिनुपर्ने खाँचो समेत औंल्याइएको छ । घुम्ती बैठकलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैना वडा नम्बर १० मा बन्ने फोहोर मैला प्रशोधन केन्द्र अलपत्र पर्ने अवस्था देखिएको भन्दै राज्यको करोडौंको लगानी भएपनि सानो कुरामा अल्झाउने काम भएकोमा असन्तुष्टी जनाउनु भयो ।
उहाँले फोहोर प्रशोधन केन्द्रको आईईई भैसकेको, जिल्लाबाट स्वीकृत भएर गैसकेको र विभागले समेत स्वीकृत गरेर पठाएपनि सामान्य उजुरीको भरमा अहिले काम नै रोकिएकोमा संवेदनशील बनाएको उल्लेख गर्नुभयो ।कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले घुम्ती बैठकका निर्णय कसरी कार्यान्वयनमा लैजाने भन्ने कुरामा अव सवै पालिकाको ध्यान जानुपर्ने बताउदै हामीले गर्न सक्ने जति निर्णय गरौं र निर्णय गर्न नसक्ने कुराको निर्णयमा चुक्ने काम नगरौं भन्नुभयो ।
ढकालले जिल्लाका पालिकाहरु एउटा बिषयमा छलफल गर्ने, पालिकाहरु बीचमा समन्वय गर्ने र एक आवसमा भाईचाराको सम्बन्ध विकास गर्ने कुरामा सवै जिम्मेवार बन्नुपर्ने भन्दै घुम्ती बैठकलाई साझा मञ्चको रुपमा लैजानुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी कार्यक्रममा जिल्ला डिभिजन बन कार्यालयका प्रमुख प्रताप पाठकले नेपाल सरकारको बन ऐन र नियमावली नै एकापसमा बाझिएकोले स्वीकृत वन प्रयोगमा समेत कठिनाई उत्पन्न हुने अवस्था आईरहेको बताउनु भयो । उहाँले वनको भोगाधिकार पाएको अवस्थामा पनि प्रयोगमा कठिनाई आएकोले पालिकाहरुलाई समस्या परेको अवस्था रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा देवदह नगरपालिकाका अध्यक्ष धु्रवप्रसाद खरेल, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल, बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा अर्याल र लुम्बिनी सांस्कृतिक नगरपालिका उपप्रमुख कल्पना हरिजनले समेत घुम्ती बैठकलाई आगामी दिनमा प्रभावकारी बनाउँदै कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा सार्वजनिक लेखा समितिको गठनमा ढिलाई तथा र पालिकाहरुको बेरुजुको बिषयमा समेत छलफल भएको थियो । कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरको स्वागतमा सम्पन्न भएको कार्यक्रममा रुपन्देही जिल्ला अन्तरगतका पालीका प्रमुख , उपप्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागिता रहेको थियो । अर्को बैठक १४ माघ सैनामैना नगरपालिकामा हुने निर्णय भएको छ ।