मर्चवार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट रुपन्देही निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कन्हैया बनियाले मर्चवार क्षेत्रमा परिवर्तनका लागि मतदातामा उल्लेखनीय उत्साह देखिएको बताउनुभएको छ। काठमाडौंमा देखिएको ‘बालेन मोडल’को सरकार यहाँ पनि बनाउन नागरिकहरू आतुर रहेको उहाँले दाबी गर्नुभयो।
आफ्नो चुनाव लक्षित घरदैलो अभियानका क्रममा मतदातासँगको भेटघाटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बनियाले स्थानीय नागरिकहरूमा सुशासन, पारदर्शिता र विकासप्रति गहिरो चाहना रहेको बताउनुभयो । विशेषगरी काठमाडौंमा बालेन्द्र शाह (बालेन) ले देखाउनुभएको कार्यशैलीले देशभर आशा जगाएको र त्यसको सकारात्मक प्रभाव मर्चवारका मतदातामा समेत परेको उहाँको भनाइ छ।
युवा नेतृत्वप्रतिको विश्वास, इमानदार शासनप्रतिको मोह र नयाँ राजनीतिक संस्कृतिप्रतिको आकर्षणले यहाँका मतदातालाई उत्साहित बनाएको बनियाले स्पष्ट पार्नुभयो। उम्मेदवार बनियाले परम्परागत राजनीतिको प्रभाव तोडिँदै गएको दाबी गर्दै भन्नुभयो, “अब मतदाता कुनै मत एजेन्टको निर्देशनमा होइन, आफ्नो क्षेत्रको समग्र विकास र आउने पुस्ताको सुरक्षित भविष्यका लागि स्वयं सचेत निर्णय लिने अवस्थामा पुगिसकेका छन्। क्षेत्र नं. ४ का मतदाता परिवर्तनको पक्षमा एकताबद्ध हुँदै घण्टीमा मतदान गर्न तयार छन्।”
आगामी फागुन २१ गतेलाई प्रतीक्षारत मतदाताहरूमध्ये युवा, किसान, वृद्धवृद्धा, व्यवसायी लगायत सबै वर्गबाट उल्लेखनीय उत्साह र समर्थन प्राप्त भइरहेको उहाँले बताउनुभयो। “बालेन्द्र शाहजस्ता परिणाममुखी र निर्भीक नेतृत्वप्रति देखिएको भरोसाले यहाँका मतदातामा नयाँ जोश थपेको छ,” बनियाले भन्नुभयो। मर्चवारका मतदाताहरूले यसपटक सुशासन, विकास र आशाको भविष्य कोर्न ‘घण्टी’ चुनाव चिह्नमा मतदान गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।