वनको काठ हिनामिना आरोपमा लुम्बिनीका प्रदेश सांसदसहित १९ विरुद्ध मुद्दा

Ujyalosandeshonline 11020+ समाचार ( )
८ फाल्गुन २०८०, मङ्गलबार

काठमाडौं । वनको काठ तथा दाउरा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्रपाका लुम्बिनी प्रदेश सांसद जानकीप्रसाद यादव र लुम्बिनीका तत्कालीन वन निर्देशक कृष्णदत्त भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले अनुमति लिएभन्दा बढी काठ कटान गरेको र त्यसबाट भ्रष्टाचार भएको दाबी गर्दै आयोगले विशेष अदालतमा मंगलबार मुद्दा दायर गरेको हो ।

अनुमति लिएकोभन्दा बढी काठ कटान गरी गैरकानुनी रुपमा काठ कटान गर्दा राज्यकोषमा २९ लाख १२ हजार १९३ रुपियाँ नोक्सानी भएको अख्तियारको दाबी छ । आयोगले मुद्दा दायर गरेकाहरुमा कपिलवस्तुका आठ जना वन अधिकृत छन् ।

आरोपी प्रदेश सांसद यादव गौतमबुद्ध साझेदार वन व्यवस्थापन समिति कपिलवस्तुका तत्कालीन संयोजक हुन् । उनी कपिलवस्तु–३(२) बाट गत निर्वाचनमा राप्रपाबाट निर्वाचित सांसद हुन् । एमाले नेता लीला गिरी लुम्बिनी मुख्यमन्त्री हुँदा उनी उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री भएका थिए ।  

आयोग प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्ति अनुसार मुद्दा दायर गरिएकाहरुमा डिभिजन वन कार्यालय कपिलवस्तुका फरेष्टर रमतु चौधरी, साबिक सेक्टर वन कार्यालय जर्लैयाका वनरक्षक वासुदेव गोडिया, गौतमबुद्ध साझेदार वन व्यवस्थापन समिति कपिलवस्तुका तत्कालीन संयोजन–अध्यक्ष जानकीप्रसाद यादव, गोरखा मनकामना काष्ठ फर्निचर उद्योगका सञ्चालक एकनाथ घिमिरे र एआर काठदाउरा खरिदबिक्री सेन्टर सञ्चालक गीता जिसी छन् । 

यस्तै तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजन वन कार्यालय कपिलवस्तुका तत्कालीन डिभिजन वन अधिकृत दुर्गाबहादुर कार्की,  गौतमबुद्ध साझेदार वन व्यवस्थापन समिति कार्यान्वयन एकाइका तत्कालीन संयोजक वन अधिकृत महेन्द्रराज वाग्ले, इलाका वन कार्यालय जवाबैराठ कपिलवस्तुका सहायक वन अधिकृत ब्रह्मदेव महतो र डिभिजन वन कार्यालय कपिलवस्तुका रेन्जर हेमराज पण्डित, तत्कालीन सहायक वन अधिकृत शिवशंकर प्रसाद, सहायक वन अधिकृत गणेशकुमार थारु छन् । 

यस्तै प्रदेश वन निर्देशनालय रुपन्देहीका सहायक वन अधिकृत टोलकराज चापागाई, सब डिभिजन वन कार्यालय गुगौली कपिलवस्तुका सहायक वन अधिकृत लालबाबु झा, फरेष्टर रामरक्षा कुर्मी (चौधरी), वन रक्षक सन्जय थारु, वनरक्षक रामगोपाल त्रिपाठी, इलाका वन कार्यालय जवाबैराठका तत्कालीन सहायक वन अधिकृत नागेन्द्रप्रसाद सिंह राजपुत र तत्कालिन डिभिजन वन कार्यालय कपिलवस्तका वनरक्षक सञ्जय केवट छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार