एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको २०औं संस्करण माघ १२ गते

Ujyalosandeshonline 11020+ समाचार ( )
२२ पौष २०८०, आइतबार

काठमाडौं । नेपाली खेलकुदमा लोकप्रिय मानिएको एनएसजेएफ पल्सर स्पोटसर्् अवार्डको २०औं संस्करण आगामी माघ १२ गते आयोजना हुने भएको छ ।

पल्सर स्पोर्ट्स् अवार्ड नेपाली खेलकुदमा वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसहित प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने कार्यक्रम हो । अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै पल्सरको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीसँग सम्झौता गरेको छ । 

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र मुख्य प्रायोजक हंसराज हुलासचन्द कम्पनीका कार्यकारी निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

२०६० सालदेखि हुँदै आएको अवार्डलाई गोल्छा ग्रुपले साथ दिएको यो लगातार १५ औं वर्ष हो । सम्झौताअनुसार गोल्छा ग्रुपले यसपटक पाँचवटा बजाज पल्सरको एन सिरिज मोटरसाइकल प्रदान गर्नेछ । जसमा दुई एन २५० र तीनवटा एन १६० मोटरसाइकल हुनेछ । साथै गोल्छाले १२ लाख रुपैयाँ नगद पनि दिने सम्झौतामा उल्लेख छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले पल्सरको उद्देश्य नेपाली खेलकुदसँगै युवाहरूसँग जोडिनु रहेको उल्लेख गर्दै यो अवार्डले नयाँ बेन्चमार्क स्थापित गरेको धारणा राखे ।

उनले भने, ‘मञ्चले हरेक अवार्डमा नयाँ नयाँ शैली र प्रविधि अपनाएर अवार्डलाई उच्च स्तरको बनाएको छ । मञ्चसँग सहकार्य गर्न पाउदा गोल्छा ग्रुप गर्व महसुस गर्छ । जस्तोसुकै आर्थिक परिस्थिति भए पनि गोल्छाले मञ्चसँग सहकार्य गर्दै जानेछ ।’ 



मञ्चका अध्यक्ष सुवेदीले आर्थिक रूपमा कठिन परिस्थितिमा कम्पनीले लगातार अवार्डलाई साथ दिएकोमा गोल्छा ग्रुपको कदमको प्रशंसा गरे । 

यस पटक मनोनयनमा पर्ने खेलाडी र अवार्ड कार्यक्रमको ढाँचामा परिवर्तन गरिने एनएसजेएफले जनाएको छ । यसअघि प्रज्ञा प्रतिष्ठानमा अवार्ड भए पनि केही नयाँ गर्ने उद्देश्यले कार्यक्रम स्थल र कार्यक्रमको शैलीमा परिवर्तन गरिने मञ्चका अध्यक्ष सुवेदीले बताएका छन् ।

यस वर्ष पनि अवार्डमा ९ विधा नै समावेश छन् ।  जसअन्तर्गत वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड छन् । यी पाँच जना अवार्ड विजेताले पल्सर मोटरसाइकल पाउनेछन् ।

यीमध्ये वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गरिने मञ्चले जनाएको छ । यस अवार्डमा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड विधा रहनेछ । यस विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर पाउनेछन् । 

मनोनयन नहुने विधा लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिनमा गरिनेछ ।

गत वर्ष पुरुषतर्फ फुटबलका अञ्जन विष्ट, महिलातर्फ भलिबलकी अरुणा शाही र प्रशिक्षकतर्फ फुटबलका अब्दुल्लाह अलमुताइरी, युवामा मनीष डाँगी उत्कृष्ट भएका थिए । पिपल्स च्वाइस अवार्ड भलिबलकी उषा भण्डारीले जितेकी थिइन् । स्पेसल अवार्ड दानबहादुर तामाङ र उनकी पत्नी मायादेवी मोक्तानलाई प्रदान गरिएको थियो । 

पारा एथलिट सम्मान तेक्वान्दोकी पलेशा गोवर्धन, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड कतारका मोहम्मद हिजी र लाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पिक रघुराज वन्तलाई प्रदान गरिएको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार