भैरहवा । जिल्ला बजार अनुगमन समिमिले मिठाईमा किरा भेटिएपछि नष्ट गरेको छ । भैरहवामा बिहीबार अनुगमनका क्रममा मिठाई, पनिर र कोककोला नष्ट गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल नेतृत्वको अनुगमन समितिले सिद्धार्थनगर–७ स्थित माखनभोग स्वीट्समा रहेको मिठाई (रसबरी) मा किरा भेटिएपछि त्यसलाई नष्ट गरेको हो । अखाद्य मिठाई विक्री गर्दा जनस्वास्थ्यमा पर्नसक्ने असरलाई ध्यानमा राखी नष्ट गरिएको अनुगमन समितिले जनाएको छ ।
अर्यालका अनुसार यहाँ उत्पादित १० किलो मिठाईमा स–सना मरेका किराहरु भेटिएका थिए । यस्तै, उक्त स्वीट्समा म्याद गुज्रिएको ४ बोतल कोककोला भेटिएपछि त्यसलाई पनि नष्ट गरिएको छ । त्यहाँ सरसफाइमा खासै ध्यान नदिइएको अनुगमन समितिले जनाएको । उक्त स्वीट्सका संचालकलाई आगामी दिनमा खाद्यवस्तु उत्पादनमा विशेष ध्यान दिन निर्देशन दिइएको छ भने सुधार नगरे कानून अनुसार कारबाही गर्ने गरी सचेत गराइएको छ ।
यस्तै, सिद्धार्गनगर–५ मा रहेको पवन मिष्ठान भण्डारमारमा लेबल नभएको साढे दुई किलो पनिर भेटिएपछि नष्ट गरिएको छ । यहाँ सरसफाइमा विशेष ध्यान दिन अनुगमन समितिले निर्देशन दिएको छ । भैरहवाको आवारोडस्थित साँवरिया प्रिमियम स्वीट्स भण्डारले भने खाद्य मापदण्ड पालना गरेको पाइएको जिल्ला अनुगमन समिति संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
‘हामीले बजार अनुगमनलाई निरन्तरता दिइरहेका छौं, कानूनले बर्जित गतिविधि गरेको पाइए जो कोहीलाई कारबाही गर्छौं’, अर्यालले भने, ‘तत्काललाई प्रतिनिधिमूलक रुपमा तीन वटा मिष्ठानमा अनुगमन गरे पनि आगामी दिनमा अन्यको पनि अनुगमन हुन्छ ।’ उनले नियमित अनुगमनसँगै प्रशासनमा आउने उजुरी र गुनासाहरुलाई तत्काल सम्बोधन गर्ने गरिएको बताए ।
प्रशासनको अगुवाईमा भएको अनुगमनमा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय प्रमुख लक्ष्मी शर्मा, घरेलु तथा साना उद्योग कार्यालय प्रमुख भूमिश्वर ढकाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक किशोर केसी लगायत सहभागी थिए ।