मर्चवार । तत्कालीन मर्चवारको १८ वटा गाविसलाई सेवा दिने उद्देश्यले २०४६ सालमा स्थापना गरिएको थियो ईलाका प्रशासन कार्यालय मझगावा । अहिले पनि कार्यालयले रुपन्देहीको दक्षिणी क्षेत्र कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रदान गरिरहेका छ । ३ वटा पालिकालाई सेवा प्रदान गर्ने ईलाका प्रशासन कार्यालयको भवन आफै भने जिर्ण अवश्थामा रहेको छ ।
सिंचाई कार्यालयको भवनबाट सेवा दिईरहेको यो भवनमा ४ कोठा रहेको छ । राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कोठामै स्टोर रुम बनेको छ । एक तिर विभिन्न कबाड रहेको छ भने सोही कोठाको एक तिर राष्ट्रिय परिचय बनाउनेहरुको चाप हुन्छ । नागरिकता बनाउने कोठामा बिजुलीको तारमा पंखा झुण्डिरहेका छ । सुस्थ गतिमा चलिरहेको पंखा गति बढाए कर्मचारीमाथी नै खस्ने जोखिम हुन्छ ।
अझ कार्यालय प्रमुखको कोठामा त सेवाग्राही नै घाईते बनाउने गरि छतबाट ईट्टाका टुक्रा झर्ने गरेको छ । ईट्टाको छत रहेकोले पटक पटक ईट्टा खस्ने गरेको कार्यालय प्रमुख शोभा पाण्डे बताउछिन । “गृहमन्त्री देखि यहाका ३ वटै पालिकालाई मरम्मतको लागि भने, तर कतैबाट सहयोग भएन ।” पाण्डेले भनिन “अहिले जोखिममै बसेर डराउदै काम गरिरहेका छौं ।”
ईलाका प्रशासन कार्यालय मझगावामा सेवाग्राहीको चाप पनि उस्तै छ । नागरिकता र नागरिकताको प्रतिलिपी मात्र गरि दैनिक ६० वटा भन्दा बढी बन्ने गरेको छ । कार्यालय भवन मात्र साँघुरो छैन, यहा सेवाग्राहीका लागि प्रतिक्षालय समेत छैन । सेवाग्राहीहरु घाममै बसिरेहका हुन्छन् । एक वटा मात्र शौचालय रहेको छ जसलाई सेवाग्राही र कर्मचारीले प्रयोग गर्छन ।
यस्तो अवश्थामा आफुले चाहेको जस्तो सेवा दिन नसकेको कार्यालय प्रमुख शोभा पाण्डे बताउछिन । कार्यालयमा एक जना सुब्बा र एक जना अधिकृत तथा एक जना कम्प्युटर अपरेटर मात्र छन् । सेवाग्राहीका चाप अत्याधिक रहेको कारण सेवाग्राहीलाई सन्तुष्ट बनाउन नसकेको पाण्डेको भनाई छ ।
मर्चवारको ३ वटै पालिकालाई जिर्ण भवन मरम्मत एवम प्रतिक्षालय निर्माणको लागि आग्रह गरिए पनि कसैले पनि नसुनेको पाण्डेले बताइन । “नया बजेट बन्ने समयमै हामीले सबै पालिकालाइ ईलाका प्रशासान कार्यालयको लागि भन्दै बजेट छुट्टयाउन आग्रह गरेका थियौ ।” उनले भनिन “तर अहिले बुझ्दा कुनै पनि पालिकामा बजेट विनियोजन भएको हामीले पाएनौ ।”
कार्यालयमै भेटिनुभएका सेवाग्राही विशेश्वर प्रसाद हरिजनले पनि भवन जिर्ण रहेको कारण कार्यालय आउदा असुरक्षित महसुस गरेको बताइन । उनले भवन जिर्ण भईसकेको कारण यसलाई मरम्मत गर्नुको सट्टा नया कार्यालय भवन नै बनाउनु पर्ने बताए ।