झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गर्दै सानदार जित हासिल गरेका शाहले मुख्य निर्वाचन कार्यालयका अधिकारीहरूबाट निर्वाचित भएको प्रमाणपत्र समेत ग्रहण गरेका छन् । अन्तिम मतपरिणाम अनुसार रास्वपा नेता शाहले ६८ हजार ३ सय ४८ मत प्राप्त गर्दै आफ्नो जित सुनिश्चित गरेका हुन् । उनका प्रतिस्पर्धी एमाले अध्यक्ष ओलीले भने जम्मा १८ हजार ७ सय ३४ मत मात्र प्राप्त गरे ।
विजेता शाह र ओलीबीचको मतान्तर ४९ हजार ६ सय १४ रहेको छ । यति ठूलो मतान्तरसहित शाहले हेभिवेट नेता ओलीलाई स्तब्ध पारेका हुन् । यस वर्षको निर्वाचनमा झापा–५ देशभरकै सबैभन्दा बढी चर्चा र चासोको केन्द्रमा रहेको थियो । काठमाडौं महानगरपालिकाका पूर्वमेयर समेत रहेका बालेन शाहले यसै क्षेत्रबाट उम्मेदवारी दिएसँगै चुनावी माहोल तातेको थियो । विशेषगरी पूर्वप्रधानमन्त्री ओलीसँग बालेनको प्रत्यक्ष प्रतिस्पर्धा हुने भएपछि यस क्षेत्रको चुनावी भिडन्तलाई लिएर देशव्यापी रूपमा चर्चा चुलिएको थियो । अन्ततः काठमाडौंका पूर्वमेयर शाहले झापामा पुगेर फराकिलो जित निकाल्दै नयाँ रेकर्ड कायम गरेका छन् ।