काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई वितरण गर्ने निःशुल्क औषधी नेपाल आएको छ । समस्या परेका नागरिकलाई निःशुल्क औषधी उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघ बीच गत फागुन ४ गते सम्झौता भएको थियो ।
सम्झौता अनुसारको औाषधी स्वास्थ्य सेवा विभागमा आइपुगेको र अब वितरण प्रक्रिया शुरु हुने व्यवस्थापन महाशाखा प्रमुख डा.पवनजंग रायमाझीले जानकारी दिए ।’५ प्रकारका औषधी आएको छ,’उनले भने,’आवश्यकता अनुसार वितरण सूची तयार गरी अस्पतालमा पठाइने छ ।’
मन्त्रालयले संघीय राजधानी काठमाडौंका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल तथा सिभिल अस्पताल मार्फत औषधी वितरण गर्ने भएको छ । यसका अलावा सातै प्रदेशका अन्य थप १० प्रादेशिक अस्पतालहरुमा औषधी पुग्ने व्यवस्था मन्त्रालयले मिलाएको छ । गतमाघ १० गते सरकारी अस्पताल मार्फत यस्तो सुविधा उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्णय गरेका थिए ।
निकै महँगो औषधी अवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवाला मार्फत सरकारले आफैं व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए । त्यस अनुसार औषधी व्यवस्था विभागमा महासंघ र मन्त्रालय बीच यस सम्बन्धी सम्झौता भएपछि वितरणको प्रक्रिया शुरु भएको हो ।
अब महासंघबाट प्राप्त जटिल किसिमको वंशाणुगत तथा पछि समेत देखिने यस रोगको उपचारका लागि पाँच प्रकारका औषधी मन्त्रालयले प्राप्त गरेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब ५ हजार बिरामी रहेको अनुमान गरेको छ । २०७८ को जनगणनामा २.२ प्रतिशतमा अपांगता देखिएका मध्ये ०.८ मा हेमोफिलिया भएको हुन सक्ने अनुमान गरिएको छ ।