मर्चवार । रुपन्देहीको मर्चवार क्षेत्रमा कडा सुरक्षाका बिच मुर्ती बिसर्जन सुरु भएको छ । कोटहीमाई ५ दुईमोहानमा विभिन्न मुर्ती बिसर्जनको क्रममा हुने विभिन्न घटनाहरुलाई मध्य नजर गरी अहिले सुरक्षा ब्यवस्था कडा गरिएको कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले जानकारी दिएका छन् ।
बडा दशैं, शुभ दिपावलीमा विभिन्न ठाउँमा माटोको अस्थायी मुर्तीहरु निर्माण गरी पुजापाठ गरी बिसर्जन गर्न आउँदा विभिन्न ब्यक्तीहरुको डुबेर मृत्यु भएको अध्यक्ष त्रिपाठीले जानकारी दिएका छन् । कोटहीमाई गाउँपालिकाका बिपद् ब्यवस्थापन समितिका संयोजक समेत रहेका अध्यक्ष त्रिपाठीले भने ‘दानव र तिनाउ नदीको संगम स्थल दुईमोहानमा कडा सुरक्षा तथा मुर्ती बिसर्जन स्थल निश्चित र ब्यवस्थित नहुँदा उक्त घटनाहरु घटीरहेको थियो ।
तर बिगतको दशैंमा घटेको घटना पछि हरेक चाडपर्वको बेला यहाँ मुर्ति बिसर्जन स्थललाई ब्यवस्थित बनाई सुरक्षा ब्यवस्था पनि कडा बनाउने गर्दछु । यहाँ कोटहीमाई, मर्चवारी र सम्मरीमाई गाउँपालिका क्षेत्रका मुर्तीहरु बिसर्जन गर्न आउने गर्दछन् ।’ दुईमोहानमा विभिन्न मुर्ती बिसर्जन गर्नुका साथै विभिन्न धार्मिक कार्यहरुका लागि जल भर्ने र दाहसंस्कार पनि हुने गरेको अध्यक्ष त्रिपाठीले जानकारी दिएका छन् ।
यस पटक मर्चवारको विभिन्न ठाउँबाट ४० भन्दा बढी मुर्तीहरु बिसर्जन हुन आउने अनुमान गरिएको इलाका प्रहरी मझगावाँका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिएका छन् । मुर्ती बिसर्जन स्थलमा मुर्ती सहित सिमित ब्यक्ति मात्र प्रवेश गर्ने ब्यवस्थापन गरिएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिएका छन् । उनले भने ‘मुर्ती बिसर्जन स्थल तोकी, अन्य जोखिम क्षेत्रलाई घेरा गरी निषेधित क्षेत्र बनाइएको छ । जाँड रक्सी सेवन गरी मुर्ती बिसर्जनको लागि समेत प्रतिबन्ध लगाइएको छ ।’