नवलपरासी । नवलपरासीका चुरे पहाडको फेदमा रहेका पालिकाहरूले जल भण्डारणको सम्भाव्यता भएका क्षेत्रमा पानी जम्मा गरी सिमसार (वेटल्यान्ड) निर्माणलाई प्राथमिकता दिएका छन्। यस कार्यले पर्यटन प्रवर्द्धन, सिँचाइको व्यवस्थापन, वन्यजन्तुको वासस्थान संरक्षण र भूमिगत जल पुनर्भरणमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
बर्दघाट र सरावल गाउँपालिकाहरूले चुरेको फेदमा रहेका खाल्टाखुल्टी जमिनमा जलभरण गरी सिमसार बनाउने कार्यलाई निरन्तरता दिएका छन्। सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीका अनुसार, यसले पर्यटन र सिँचाइका लागि आधार तयार गर्नुका साथै जमिनलाई जलपरिपुरण (वाटर रिचार्ज) मा पनि योगदान पुर्याउँछ। सिमसार क्षेत्रले वन्यजन्तुलाई पिउने पानी उपलब्ध गराउनुका साथै वन डढेलो नियन्त्रणमा पनि सहयोग पुग्ने उनको भनाइ छ। उनले लुम्बिनी प्रदेश सरकारलाई पनि यस्ता कार्यलाई प्राथमिकतामा राखेर गुरुयोजना बनाई काम गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
सरावलको तुलसीपुर र बर्दघाटको बाउन्नघोल (संसारकोट) सिमसार क्षेत्रको रूपमा विकास हुँदैछन्। संसारकोट, चुरे पर्वत श्रृङ्खला र हरियालीले भरिपूर्ण, मनमोहक दृश्यका कारण आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षक गन्तव्य बन्दै गएको छ।
बर्दघाट नगरपालिकाले संसारकोट क्षेत्रलाई पर्यटन तथा पहाडी आर्थिक क्षेत्रको रूपमा विकास गर्न कार्य गरिरहेको छ। स्थानीय यादव खनालले सुरुमा गिद्ध रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थिए र त्यही बेलादेखि नै वन्यजन्तुका लागि पानीको स्रोत सुनिश्चित गर्न बाउन्नघोललाई सिमसार बनाउने अवधारणा अघि सारेका थिए।
जलाशयमा बन्ने पुल र कल्भर्टहरूमा काठ र बाँसको प्रयोग गरेर जैविक विविधतालाई पनि मद्दत पुर्याइएको छ। यसरी जंगलभित्र जलाशय, सिमसार र जैविक पूर्वाधार थपेर पर्यटन पूर्वाधार निर्माण गरी आर्थिक विकासको योजना अनुसार काम भइरहेको छ । बर्दघाट नगरपालिकाले चुरेदेखि तराई मधेश जोड्ने यस क्षेत्रमा पूर्वाधार विकास, सामाजिक, सांस्कृतिक विकाससँगै उद्योग, कृषि र पर्यटनलाई उत्तिकै महत्त्वका साथ काम गरिरहेको छ। विगतका जनप्रतिनिधिले पनि संसारकोटलाई महत्त्व दिएका थिए र वर्तमान जनप्रतिनिधिले पनि यसलाई निरन्तरता दिँदै काम गरिरहेका छन्। यदि अन्य क्षेत्रबाट पनि सहयोग जुटेमा संसारकोट वास्तवमै एक नयाँ अनुभूति दिने स्थलको रूपमा विकास हुने विश्वास लिइएको छ।