भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशपछि शुक्रबार थुनामुक्त भएका छन् । ललितपुरस्थित नख्खु कारागारबाट रूपन्देही जिल्ला अदालत पुर्याइएका लामिछानेलाई कानुनी प्रक्रिया पूरा गरी प्रहरीले रिहा गरेको हो। थुनामुक्त भएलगत्तै अदालत परिसरमा भेला भएका ठुलो सङ्ख्याका शुभचिन्तक र कार्यकर्ताहरूलाई सम्बोधन गर्दै लामिछानेले आफ्नो लडाइँ व्यक्तिगत नभई देशको न्यायका लागि भएको उद्घोष गरे।
सम्बोधनका क्रममा निकै दृढ देखिएका लामिछानेले न्यायको लडाइँ अझै बाँकी रहेको र आफूले धेरै लड्न बाँकी रहेको बताए। उनले आफूमाथि भएको अन्यायलाई सामान्य मान्दै शक्तिमा रहेकाहरूले देशमाथि गरिरहेको अन्यायका विरुद्ध आवाज बुलन्द पार्ने चेतावनी दिए। "मैले लड्न बाँकी छ भनेको मेरा लागि मात्र होइन, तपाईँहरू र देशको न्यायका लागि हो," उनले आक्रोश व्यक्त गर्दै भने, "यिनीहरूले देशमाथि गरेको अन्यायको अगाडि म माथि भएको अन्याय केही पनि होइन, अब सबैको हिसाब मिलान हुनेछ।"
लामिछानेले देशले चाँडै न्याय पाउनेमा आफू आशावादी रहेको बताउँदै अहिलेलाई धेरै नबोल्ने तर उपयुक्त समयमा सबै कुराको पर्दाफास गर्ने सङ्केत गरे। समर्थकहरूको माया र विश्वासका लागि धन्यवाद दिँदै उनले केही समय धैर्य गर्न र आफूले बोल्ने समय चाँडै आउने आश्वासन समेत दिए।