बँदेललाई थापेको पासोमा परेर अर्घाखाँचीमा दुई सातामै दुई चितुवाको मृत्यु

अनिल नेपाली 141+ समाचार ( )
१४ फाल्गुन २०८२, बिहीबार

अर्घाखाँची । जंगली बँदेललाई लक्षित गरी थापिएको पासोमा परेर अर्घाखाँचीमा पछिल्लो दुई हप्ताको अवधिमा दुईवटा चितुवाको मृत्यु भएको छ । किसानहरूले आफ्नो बालीनाली जोगाउन राखेको पासोमा परी संरक्षित वन्यजन्तु चितुवा मारिन थालेका हुन् । यसै क्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर ७ स्थित उपल्लो किटेनी गाउँको बारीको छेउमा थापेको पासोमा परेर आज एउटा चितुवा मारिएको छ ।

डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशर खड्काका अनुसार पासोमा चितुवा परेको खबर प्राप्त हुनासाथ वन कार्यालयको टोली उद्धारका लागि त्यसतर्फ गएको थियो । तर, उद्धार टोली घटनास्थलमा पुग्नुअगावै पासोमा परेको उक्त भाले चितुवा मृत अवस्थामा फेला परेको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।

यसअघि पनि जिल्लामा यस्तै प्रकृतिको घटना भएको थियो । एक हप्ता अगाडि मात्रै मालारानी गाउँपालिका वडा नम्बर ३ मा बँदेलकै लागि थापिएको पासोमा एउटा पोथी चितुवा परेको थियो । उक्त चितुवालाई भने वन कार्यालयको टोलीले जीवितै उद्धार गरेको थियो । यद्यपि, उद्धारपश्चात् सन्धिखर्क ल्याएर उपचार गर्ने क्रममा उक्त पोथी चितुवाको पनि ज्यान गएको थियो ।

जिल्लामा पछिल्लो समय बाँदर, बँदेल र दुम्सी जस्ता जंगली जनावरले खेतबारीमा पसेर व्यापक रूपमा अन्नबाली नष्ट गर्न थालेपछि किसानहरू आजित भएका छन् । जंगली जनावरले खेतीपातीमा ठूलो क्षति पुर्‍याउने गरेका कारण आफ्नो बालीनाली जोगाउन आफूहरू खेतबारीमा पासो थाप्न बाध्य भएको स्थानीय किसानहरूको भनाइ छ । किसानले बाली जोगाउन अपनाएको यो बाध्यकारी कदमले गर्दा चितुवा जस्ता अन्य वन्यजन्तुहरूले भने अकालमा ज्यान गुमाउनु परेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार