बुटवल । राष्ट्र ,राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ मेची–महाकाली राष्ट्रिय अभियान टोलीले मंगलबार बुटवलमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । गत साउन २१ गते मेचिको इलामबाट संयोजक दुर्गा प्रसाईंले उद्घाटन गरेको अभियान १५ औं दिन मंगलबार बुटवलमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र,राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तर्गत गठित उच्चस्तरीय कार्यदलको मेची–महाकाली राष्ट्रिय अभियानले अभियानसँग सम्बन्धित ब्यक्तिहरूमा जागरण, प्रशिक्षण तथा संगठन सुदृढीकरण कार्यक्रम गर्दै आएको कार्यदलले जनाएको छ ।
कार्यक्रममा उच्चस्तरीय कार्यदल संयोजक हरिकुमार श्रेष्ठले अभियानबारे जनताको धारणा,सुझाव तथा भावि कार्यक्रमबारे जागरण,प्रशिक्षण तथा संगठन सुदृढीकरण गर्ने उदेश्यले मेची–महाकाली राष्ट्रिय अभियान सुरु गरेको जानकारी गराए । अभियानका क्रममा जनताका सुझाव,सल्लाहलाई दस्तावेजिकरण गर्नुका साथै त्यसका आधारमा आगामी कार्यक्रम तय गर्ने उनले बताए ।
कार्यदलका सदस्य तथा लुम्बिनी प्रदेश संयोजक प्रेम थापा मगरले अभियानको समिक्षा र जनविद्रोहको तयारीका लागि मेची–महाकाली राष्ट्रिय अभियान सञ्चालन गरिएको भन्दै जनविद्रोहको बिकल्प नभएको बताए ।
कार्यक्रममा उच्चस्तरीय कार्यदल सदस्य ओमप्रकाश लुइँटेल, अभियानका रूपन्देही संयोजक शंकर कोइराला, कपिलवस्तु जिल्ला अध्यक्ष बिष्णु थापा,लुम्बिनी बचाउ अभियानका संयोजक अक्रम खान, अभियानका जिल्ला सचिव बशन्त थापा, बुटवल नगर अध्यक्ष चेतनाथ शर्मा,ऋणी एशोसिएशन जिल्ला अध्यक्ष सुरज थापालगायतले आ आफ्नो भनाइ राखेका थिए ।