भैरहवा । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) क्षेत्रमा मापदण्डविपरीत र अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरूमाथि प्रशासनले कडा निगरानी थालेको छ। मेडिकल तथा स्वास्थ्य संस्थाहरूले कानुनी प्रक्रिया पूरा नगरी सेवा दिइरहेको भन्ने विशेष सूचनाका आधारमा गरिएको आकस्मिक अनुगमनका क्रममा १७ वटा मेडिकलहरू बन्द गराइएको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश सापकोटाका अनुसार इजाजतपत्र नलिई सञ्चालन गरिएका र तोकिएको न्यूनतम मापदण्डसमेत पालना नगरेका ती स्वास्थ्य संस्थाहरूलाई अनुगमनकै क्रममा बन्द गराइएको हो। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा लापरबाही गरी क्लिनिक तथा फार्मेसीहरू सञ्चालन भएको पाइएपछि सुरक्षा निकाय र सम्बन्धित सरोकारवाला निकायले संयुक्त रूपमा यो कदम चालेका हुन्।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय रूपन्देहीका प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवाली, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक जि.सी. र स्वास्थ्य कार्यालय रूपन्देहीकी प्रमुख उमादेवी थापासहितको सहभागिता रहेको थियो। त्यस्तै, सिद्धार्थनगर नगरपालिका स्वास्थ्य शाखाका प्रतिनिधि र सुरक्षाकर्मीहरूको टोलीले भैरहवा क्षेत्रका विभिन्न मेडिकल क्लिनिक तथा फार्मेसीहरूको स्थलगत निरीक्षण गरेको थियो।
पछिल्लो समय विना इजाजत स्वास्थ्य संस्था खोल्ने र गुणस्तरहीन सेवा दिने क्रम बढेको गुनासो आएपछि प्रशासनले सक्रियता देखाएको हो। बन्द गरिएका ती १७ वटा मेडिकलहरूलाई कानुनी दायरामा ल्याइने र आगामी दिनमा पनि यस्ता अनुगमन कार्यलाई निरन्तरता दिइने प्रशासनले जनाएको छ। रात्रिकालीन समय र आकस्मिक अवस्थामा सेवाग्राही नठगिउन् र स्वास्थ्यमा खेलबाड नहोस् भन्ने उद्देश्यले अनुगमनलाई तीव्रता दिइएको टोलीले जानकारी दिएको छ।