भैरहवा । प्रतिनिधि सभाका सदस्य कन्हैया बनियाले देशमा विभिन्न राजनीतिक व्यवस्थाहरू परिवर्तन भए तापनि आफ्नो निर्वाचन क्षेत्रको विकासको अवस्था अझै सुध्रिन नसकेको भन्दै संसदमा सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बनियाले देशले राणा शासन, राजतन्त्र, प्रजातन्त्र र गणतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको लामो यात्रा तय गरिसक्दा पनि आफ्नो क्षेत्रले अपेक्षाकृत विकासको अनुभूति गर्न नपाएको गुनासो गर्नुभयो।
विगतमा क्षेत्रको विकासको अवस्था जस्तोसुकै रहे तापनि वर्तमान नेपाल सरकारले यसपटक आफ्नो क्षेत्रलाई विकासको प्राथमिकतामा राखेको भन्दै उहाँले अबका दिनमा काम हुनेमा आफू शतप्रतिशत ढुक्क र विश्वस्त रहेको धारणा व्यक्त गर्नुभयो।आफ्नो निर्वाचन क्षेत्रको समग्र समृद्धिका लागि विभिन्न रणनीतिक र जनसरोकारका मुद्दाहरू उठाउँदै सांसद बनियाले ऐतिहासिक मर्चवारीमाई मन्दिरको राष्ट्रियकरण गरिनुपर्ने माग गर्नुभयो।
कृषि क्षेत्रको विकास बिना समग्र विकास सम्भव नभएको उल्लेख गर्दै उहाँले स्थानीय किसानका लागि समयमै मलखाद र भरपर्दो सिँचाइको व्यवस्था गर्न तथा क्षेत्रमा भइरहेको अघोषित विद्युत कटौती (लोडसेडिङ) को समस्या तत्काल समाधान गर्न सरकारसँग जोडदार माग गर्नुभयो ।
यसका साथै सांसद बनियाले क्षेत्रको पूर्वाधार र सुरक्षा चुस्त बनाउन दमकल खरिद, चार लेन सडक निर्माण, छपिया मत्स्य तथा कृषि हबको उचित व्यवस्थापन, र लुम्बिनी–ककरहवा तथा खैराघाट बॉर्डर विस्तार जस्ता महत्वपूर्ण योजनाहरू अगाडि सारिएको जानकारी दिनुभयो। उहाँले चक्किया घाटमा पुल निर्माण र देउरवा मर्चवारलाई पर्यटकीय क्षेत्र लुम्बिनी सर्किटसँग जोड्ने जस्ता थुप्रै विकासका कार्ययोजनाहरू तयार भइसकेकाले यी सम्पूर्ण योजनाहरूलाई द्रुत गतिमा अगाडि बढाउन सरकारसँग आग्रह गर्नुभएको छ।