भैरहवा । ओमसतिया गाउँपालिकाको आयोजनामा सम्पन्न भएको प्रथम राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा बसन्तपुर जनता माध्यमिक बिद्यालय प्रथम भएको छ । मङ्गलबार सम्पन्न भएको प्रतियोगितामा बसन्तपुर ६ स्वर्ण, ४ रजत र ३ कास्य पदक सहित पहिलो भएको हो ।
यस्तै ५ स्वर्ण, ४ रजत र ५ कास्य पदक विजेता मिनर्वा बोर्डिङ्ग स्कूल दोश्रो र ५ स्वर्ण, २ रजत सहित जनजागृती माध्यमिक बिद्यालय तेश्रो भएको छ ।
२ दिन सम्म सञ्चालित प्रथम राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा ओमसतिया गाउँपालिका बिभिन्न १० बिद्यालयहरुले सहभागीता जनाएका थिए । गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरि प्रसाद पोखरेलका अनुसार छोटकी रामनगर माध्यमिक बिद्यालयले २ स्वर्ण, २ रजत र २ वटा कास्य पदक जितेको छ । न्यू मून एकेडेमीले २ स्वर्ण, ५ रजत र २ कास्य, लर्ड गौतमबुद्धले ३ स्वर्ण, ४ रजत र १ वटा कास्य पदक जितेको छ । ठूठिपिपल माध्यमिक बिद्यालयले १ स्वर्ण सहित २ वटा रजत र ५ वटा कास्य, पट्खौली माध्यमिक बिद्यालयले २ स्वर्ण, २ रजत र २ वटा कास्य, सनलाईट स्कूलले १ वटा रजत र १ वटा कास्य पदक जितेको छ । कबड्डी, दौड, तेक्वान्दो, भलिबल, शटपुट, जेवलिङ्ग थ्रो, लङ्गजम्प लगायतका खेलहरु प्रतियोगितामा समावेश गरिएको थियो ।
विजयी खेलाडी एवम बिद्यालयहरुलाई गाउँपालिकाको अध्यक्ष मञ्जित कुमार यादव, उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्री, वडा नं २ का वडाअध्यक्ष सितल जिटी ,वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश सिंह चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष अखिलेश्वर कुमार पाण्डे लगायतले पुरस्कार वितरण गरेका थिए ।
समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादवले ओमसतियाले पहिलो पटक रनिङ्गशिल्ड प्रतियोगिता भएको र यसलाई भविष्यमा अझै ब्यवस्थित गर्दै लैजाने बताए । उनले आफ्नो पालिकामा रहेका बिद्यार्थीहरुमा अन्तरनिहित प्रतिभा प्रष्फुटन गराउने उद्देश्य सहित प्रतियोगिताको आयोजना गरिएको बताए ।