सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले यस वर्षको तिहार र छठ पर्वमा प्लास्टिकका माला र पटाकाको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाउने महत्वपूर्ण निर्णय गरेको छ। नगरपालिकाले स्थानीय फूलको प्रयोगलाई प्रोत्साहन गर्न र प्लास्टिकजन्य प्रदूषण कम गर्ने उद्देश्यले यो कदम चालेको हो ।
नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी गराएअनुसार, नगरपालिकाले तिहारमा प्लास्टिकका माला बेच्न नपाइने निर्णय गरेको छ। यो निर्णयको मुख्य उद्देश्य स्थानीय रूपमा उत्पादित फूलहरूको उपयोग बढाउनु, प्लास्टिकजन्य फूलहरूको आयातलाई निरुत्साहित गर्नु र वातावरण संरक्षणमा योगदान पुर्याउनु रहेको उहाँले स्पष्ट पार्नुभयो।
नगरपालिकाले यो निर्णयलाई तत्काल कार्यान्वयनमा ल्याउन सबै वडा कार्यालय, नेपाल प्रहरी, स्थानीय प्रशासन, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स र उद्योग व्यापार संघ लगायतका सरोकारवाला निकायहरूलाई सहयोगका लागि अनुरोध गरेको छ। नगर प्रमुख श्रेष्ठले नगरवासीहरूलाई पनि यस अभियानमा सक्रियतापूर्वक सहयोग गर्न आग्रह गर्नुभएको छ।
श्रेष्ठका अनुसार, यो निर्णयले स्थानीय उत्पादनको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्नेछ र प्लास्टिकजन्य प्रदूषणलाई कम गर्न मद्दत पुग्नेछ। यसबाट दीर्घकालीन रूपमा सफा र स्वच्छ नगर निर्माणमा सहयोग पुग्ने विश्वास नगरपालिकाले लिएको छ।नगरपालिकाको यो पहलले चाडपर्वहरूलाई थप वातावरणमैत्री बनाउनुका साथै स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याउने अपेक्षा गरिएको छ।