सुशासन जादु जस्तो एकैपटक आउँदैन, तर सरकार प्रतिबद्ध छ : सांसद् पुनम कुमारी अग्रवाल

Ujyalosandeshonline 11469+ समाचार ( )
२९ चैत्र २०८२, आइतबार

भैरहवा । प्रतिनिधि सभा सदस्य पुनम कुमारी अग्रवालले देश अहिले अत्यन्तै विषम परिस्थितिबाट गुज्रिरहेको बताउनुभएको छ । रुपन्देहीको भैरहवामा आयोजित आस्था महिला उद्यमी संघ सिद्धार्थनगरको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले सुशासनको मुद्दामा सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो ।

सांसद् अग्रवालले सुशासन भन्ने कुरा जादु जस्तै एकैपटक ल्याउन नसकिने भए पनि वर्तमान नागरिक सरकार यसप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो । सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरेको उल्लेख गर्दै उहाँले कुनै पनि कामको नतिजा तत्कालै नदेखिने भएकाले धैर्यता राख्न आम नागरिकलाई आग्रह गर्नुभयो । उहाँले सरकार सही बाटोमा अघि बढिरहेको र यसले बिस्तारै सकारात्मक परिणाम दिने विश्वास व्यक्त गर्नुभयो ।

महिला उद्यमीहरूको संघर्ष र सफलताका बारेमा चर्चा गर्दै सांसद् अग्रवालले महिलाको वास्तविक संघर्ष घरको चौघेराबाटै सुरु हुने धारणा राख्नुभयो । आत्मविश्वास, दृढ इच्छाशक्ति र परिवारको साथ सहयोग प्राप्त भएमा महिलाहरूले सोचेभन्दा ठूलो र प्रशंसनीय काम गर्न सक्ने उहाँको भनाइ थियो । महिलाको स्वाभिमान रक्षा र उद्यमशीलता विकासमा आस्था उद्यमी महिला संघले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले यस संस्थाले समाजमा एउटा बलियो इँटा थप्ने काम गरेको बताउनुभयो ।

आफू पनि विगतदेखि नै महिला उद्यमीका रूपमा क्रियाशील रहेको स्मरण गर्दै सांसद् अग्रवालले उद्यमीहरूका समस्या र चुनौतीलाई नजिकबाट बुझेको बताउनुभयो । उहाँले महिला उद्यमीहरूको हौसला बढाउन र संस्थाको प्रगतिमा व्यक्तिगत तथा सरकारी तवरबाट आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउन आफू तयार रहेको प्रतिबद्धता समेत जनाउनुभयो । नेपाली हुनु र त्यसमा पनि उद्यमी महिला हुनुमा गर्व गर्नुपर्ने भन्दै उहाँले अब सबैले परिणाममुखी काममा जोड दिनुपर्ने बताउनुभयो ।

हिजोका दिनमा आफू प्रश्न गर्ने ठाउँमा भए पनि अहिले जनताको विश्वासले जवाफ दिने र काम गर्ने जिम्मेवारीमा पुगेको उहाँले उल्लेख गर्नुभयो । 'हामी आफ्नो कर्तव्यप्रति पूर्ण जिम्मेवार छौं र परिणाममुखी काम गर्न केन्द्रित छौं, त्यसैले मेरो प्रशंसा गर्नुको सट्टा मलाई प्रश्न गर्नुहोस्, जसले मलाई थप जिम्मेवार बनाउनेछ,' उहाँले भन्नुभयो ।

कार्यक्रममा आस्था महिला उद्यमी संघ सिद्धार्थनगरकी अध्यक्ष मिनिता थापा र महासचिव पवि खनालले संस्थाका गतिविधिबारे जानकारी गराउनुभएको थियो । त्यस्तै, चेम्बर अफ कमर्श रुपन्देहीका अध्यक्ष सचिन रोक्का, निवर्तमान अध्यक्ष दर्पण श्रेष्ठ, पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारी र सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली लगायतले बोल्दै महिला उद्यमीहरूलाई राज्यले विशेष सहुलियत दिनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा संस्थामा आबद्ध भई विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार