काठामाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुक बनाउने जिम्मेवारी सबैको भएको बताउनुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भएको बैठकमा उहाँले भन्नुभयो, “हामी सबै मिलेर मुुलुक बनाउने हो । हामीले नसुधारे कसैले सुधारिदिँदैन । त्यसैले जेजस्ता समस्या छन्, मिलेर समाधान गरौँ ।”
प्रधानमन्त्री कार्कीले आफू राजनीतिक नेता नभएको र परिस्थितिले यहाँ ल्याइपु¥याएको बताउँदै गत भदौ २३ गतेअघिसम्म त यो परिस्थिति आउला भन्ने अनुमान पनि नभएको उल्लेख गर्नुभयो । जेनजीहरूको सुरुको माग भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा रहेको बताउँदै उहाँले अहिले धेरैथरी जेनजी देखापरेका तथा धेरै माग आउन थालेको उल्लेख गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
“कतिपय जेनजी यहीँ आएर चर्का कुरा गरेर जान्छन् । कतिपय यहाँभित्र ठीकठाक हुन्छन्, बाहिर गएर मनोमानी बोल्छन् । जेसुकै भए पनि ती सबै हाम्रा छोराछोरी हुन्”, प्रधानमन्त्री कार्कीले भन्नुभयो, “सिक्दै छन् । कतिपय त निकै नै परिपक्व कुरा पनि गर्छन् । हामीले भन्दा धेरै कुरा उनीहरूले जानेका छन् ।” प्रधानमन्त्री कार्कीले आफूहरु प्रदेश सरकारसँग सहकार्य गरेर नै अघि बढ्ने उल्लेख गर्दै संविधानले दिएको परिधिभित्रै रहेर काम गर्ने बताउनुभयो । संविधानले बनाएका संरचनाको सम्मान गर्नुपर्ने उहाँको भनाइ थियो ।
“स्थायित्वका लागि निर्वाचित सरकार नै चाहिन्छ । निर्वाचन र राजनीतिक दल एकअर्काका परिपूरक हुन् । राजनीतिक दल नभई यो व्यवस्था चल्दैन । त्यसैले स्वतन्त्र विज्ञ भनेर नाम चलेका व्यक्ति पनि चुनाव लड्न दल खोल्दै छन्”, उहाँले भन्नुभयो, “जेनजीहरूलाई पनि पार्टी खोलेर चुनावमा सहभागी होऊ र आफ्ना एजेन्डा जनताबाट अनुमोदन गराऊ भनेका छौँ । कोहीकोही बरालिएका छन्, कोही उग्र पनि छन् । उनीहरूले यो समयको संवेदनशीलता र अन्तरिम सरकारका सीमा बुझ्नुपर्छ ।”
निर्वाचनको वातावरण बनाउने सरकारको मुख्य प्राथमिकता भएको बताउँदै प्रधानमन्त्री कार्कीले सुरक्षा निकायका लागि बन्दोबस्तीका सबै सामानको व्यवस्था गर्न लागेको जानकारी गराउनुभयो ।“प्रहरीका लागि तत्काल आवश्यक गाडी खरिदको प्रक्रिया अघि बढिसकेको छ । छिमेकी मुलुकहरूले पनि सवारीसाधन उपलब्ध गराउँदै छन् । केही मित्रराष्ट्रले आर्थिक सहयोग गर्ने वचन दिएका छन्”, उहाँले भन्नुभयो ।
आन्दोलनमा क्षतिग्रस्त भएका प्रहरीका ९० प्रतिशत संरचना स्थानीय जनताले नै बनाइदिएको बताउँदै प्रधानमन्त्री कार्कीले यसले प्रहरीको मनोबल उकास्न र जनतासँगको सम्बन्ध थप कसिलो बनाउन मद्दत गरेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री कार्कीले भन्नुभयो, “अहिलेभन्दा निकै प्रतिकूल अवस्थामा पनि चुनाव भएको छ । जेनजीहरूले पनि चुनाव हुनुपर्छ र अहिलेको अवस्थामै गर्न सकिन्छ भनेका छन् । दलहरूसँगको संवादले अझै बढी चुनावका पक्षमा वातावरण बनेको महसुस भएको छ ।”
निर्वाचन आयोगलाई चाहिने १२० प्रकारका सामग्रीमध्ये ९० प्रतिशतभन्दा बढी उपलब्ध रहेको र बाँकी व्यवस्थापन गर्न लागेको प्रधानमन्त्री कार्कीले बताउनुभयो । आयोगले पनि तोकिएकै समयमा चुनाव गराउन सकिनेमा पूर्ण विश्वास दिलाएको उहाँको भनाइ थियो ।
लुटिएका र हराएका हतियार फेला पर्दै गएका र प्राप्त हुन बाँकी रहेका हतियारको पनि लोकेसन पत्ता लागिसकेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले भागेका कैदी पनि फर्कन लागेका बताउनुभयो । सुरक्षित वातावरण बन्छ भन्नेमा ढुक्क हुन आग्रह गर्दै उहाँले यस कार्यका लागि प्रदेश सरकारले पनि भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकारले पनि हातेमालो गर्नुपर्ने र तीनै तहका सरकारसँग समन्वय गरेर नै अघि बढ्ने बताउँदै प्रधानमन्त्री कार्कीले अबको छलफल स्थानीय सरकारका प्रतिनिधिसँग गर्ने जानकारी गराउनुभयो ।