भैरहवा । सरकारले बजेट मार्फट सुनचाँदी तथा रत्नयुक्त गहनामा विलासिता कर लगाएको भन्दै रुपन्देहीको सुनचाँदी तथा रत्न व्यवसायीहरु आन्दोलित भएको छन् । बजेट वक्तब्य मार्फत बढाईएको कर हटाउनुपर्ने लगायतका माग राख्दै व्यवसायीहरुले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी मार्फत अर्थमन्त्रालयलाई विलासिता कर तथा सुनमा लाग्दै आएको भन्सार दर ६ प्रतिशत कायम राख्न माग गरेका छन् ।
रुपन्देही सुनचाँदी व्यवसायी संघ र बुटवल व्यवसायी संघले शुक्रबार संयुक्त रुपमा सडकमै उपभोक्ताहरुको हस्ताक्षर संकलन गरि उपभोक्ताको हस्ताक्षर सहितको ज्ञापन रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई बुझाएका छन् । आर्थिक वर्ष २०८२÷०८३ को बजेट वक्तव्यमार्फत सरकारले सुनचांदी, हिरा, जवाहरात तथा हस्तकला व्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई समेत प्रत्यक्षरुपमा असर पर्ने गरी विलासिता कर र भ्याटको नाममा चर्को भार पार्न खोजेको व्यवसायीहरुको आरोप रहेको छ ।
यो व्यवस्था लागु भएको खण्डमा समग्र सुनचांदी, हिरा, जवाहरात तथा हस्तकला व्यवसायी आफ्नो व्यवसाय बन्दै गर्नुपर्ने अवस्थामा पुग्ने रुपन्देही सुनचाँदी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष गोपाल विश्वकर्माले बताए । “विश्व बजारमा सुनको मुल्य वृद्धि भई सामान्य उपभोक्ताको क्रयशक्ति भन्दा ज्यादा भई कारोबार नै लगभग ठप्प प्राय भएको विद्यमान अवस्थामा छ ।” विश्वकर्माले भने “एक पछि अर्को गर्दै करको बोझ थपेर व्यवसायी र उपभोक्ताले थेग्नै नसक्ने गरी भार बोकाइनु कत्तिको जायज छैन । यसर्थ यी समस्या समाधानका लागि आवश्यक पहलकदमी हुने कुरामा हामी विश्वस्त छौं ।”
उनले सरकारले हाम्रा यी मागहरुमा चासो नदेखाएमा बाध्य भई व्यवसाय नै बन्द गरी आन्दोलनमा जाने र व्यवसायको ताला चावी नै राज्यलाई सुम्पनु पर्ने अवस्था आउने बताए ।
सरकारले २०८२/०८३ को बजेट वक्तव्य मार्फत सुन तथा सनका गहनामा लागु गर्न खोजेको २ प्रतिशत विलासित्ता कर पटक्कै पिच्छेको बिक्रीमा लागू हुने बहु कर प्रणाली राउन्ड ट्रिपिङः हो । झट्ट सुन्दा २ प्रतिशत जस्तो मात्र लागे पनि व्यवहारमा भने ग्राहकहरूको लागि कमसेकम ३ प्रतिशतको हाराहारीमा थप मूल्य तिर्नुपर्ने बाध्यकारी कर प्रणाली भएको व्यवसायीहरुको बुझाई रहेको छ ।
सुनका गरगहना हाम्रो धर्म, संस्कृक्ति, सामाजिक संस्कार तथा रीतिरिवाजको अभिन्न हिस्सा हो भएकोले धनी वा अभिजात्य वर्गले मात्र प्रयोग गर्ने बस्तु नभएको बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष गकुल विश्वकर्माले बताए । “हामीले २ प्रतिशत विलासिता कर खारेज, १३ प्रतिशत भ्याट पुनरावलोकन गरी व्यवसाय अनुकूल बनाउनु पर्ने, खरिद पछि ग्यारेन्टीमा प्रणालीमा कर छुटको व्यवस्था हुनु पर्ने, प्रमाणीकरण र परीक्षण प्रयोगशालाको सुविधा दिनु पर्ने, परम्परागत हस्तकलामा कर दर घटाइ प्रोत्साहन गर्नु पर्ने र दीर्घकालीन नीतिगत स्थिरता सुनिश्चित गर्नु पर्ने माग राखि आन्दोलन थालेको छौं,” उनले भने
यो नियम लागु भए सुनका गरगहनामा पनि घुमाउरो पाराले ६ प्रतिशतको विलासी कर माथि १३ प्रतिशतको भ्याट जोडी कुल १९ प्रतिशत सम्मको मूल्य वृद्धि हुने भएको व्यवसायीहरुको तर्क छ ।