अर्घाखाँची । नेपाल प्रेस युनियन अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल 'मुस्कान'ले 'जेन जी' आन्दोलनका नाममा भइरहेको सार्वजनिक र निजी सम्पत्तिमाथिको घुसपैठ र यसमा विदेशी चलखेलको दाबी गर्नुभएको छ। उहाँले नेपालको राजनीतिक स्थिरतालाई कमजोर बनाउन बाह्य शक्तिहरू सक्रिय रहेको तर लोकतन्त्रलाई कमजोर पार्न कसैलाई पनि सफल हुन नदिने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठले प्रेस स्वतन्त्रता र लोकतन्त्रको संरक्षणमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। प्रदेश सदस्य शान्ता भण्डारीले महिला र युवाको सहभागिताविनाको आन्दोलन अधुरो हुने धारणा राख्दा क्षेत्रीय सभापति राजेशकुमार पन्थीले प्रेस र राजनीतिबीचको सहकार्यले सामाजिक परिवर्तन सम्भव हुनेमा जोड दिनुभयो।
सन्धिखर्क नगरपालिका वडानं ८ का अध्यक्ष हुमप्रसाद बन्जाडेले स्थानीय पत्रकारिताको योगदानको चर्चा गर्दै पत्रकारहरू लाई लोकतान्त्रिक मूल्यको संरक्षणमा सचेत रहन आग्रह गर्नुभयो। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रेमनारायण आचार्यले पत्रकारिता समाजको प्रतिविम्ब भएको र यसलाई निष्पक्ष राख्नुपर्ने बताउनुभयो। महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालले पत्रकारिता सूचना प्रवाहका साथै सामाजिक न्यायको माध्यम भएको उल्लेख गर्नुभयो।
पूर्व अध्यक्ष शोभाखर पन्थीले पत्रकारितालाई पेशा मात्र नभई मिशनका रूपमा हेर्नुपर्ने र पत्रकारको सुरक्षामा सबै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो। प्रगतिशील पत्रकार संघका केन्द्रीय सचिव गोपालप्रसाद भट्टराईले सत्य, तथ्यमा आधारित समाचार लोकतन्त्रको आधारशिला हुने बताउनुभयो। कार्यक्रममा पत्रकार अनिल नेपाली, नवीन रसाइली, नेविसंघ अर्घाखाँचीका अध्यक्ष कृष्ण भुसाल लगायतले पत्रकारिता र लोकतन्त्रबीचको सम्बन्ध तथा हालको जटिल राजनीतिक परिस्थितिमा पत्रकारको जिम्मेवार भूमिकामाथि प्रकाश पार्नुभएको थियो। प्रेस युनियन अर्घाखाँचीका अध्यक्ष लक्ष्मण घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सरिता भुसालले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सचिव विष्णुप्रसाद खनालले गर्नुभएको थियो।