कपिलवस्तु । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय पिपरामा कार्यरत प्रहरी निरीक्षक अर्जुन पौडेललाई फागुन महिनाको ‘उत्कृष्ट प्रहरी’ (Best Police of the Month) का रूपमा सम्मानित गरेको छ। आफ्नो कार्यक्षेत्रमा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न तथा आम सर्वसाधारणसँग समन्वय गर्दै उत्कृष्ट सेवा प्रवाह गरेको मूल्याङ्कनका आधारमा उनलाई यो सम्मान प्रदान गरिएको हो ।
आज आयोजित एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीले निरीक्षक पौडेललाई कदरपत्र र पुरस्कार प्रदान गर्नुभयो। सो अवसरमा "The Police of the Month Recognition Luncheon" कार्यक्रम समेत आयोजना गरिएको थियो, जहाँ उत्कृष्ट भएका प्रहरी कर्मचारीलाई प्रहरी नेतृत्वसँगै औपचारिक भोजनमा सहभागी गराई प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गरियो।
उक्त कार्यक्रममा समसामयिक सुरक्षा चुनौती, कार्यक्षेत्रका भोगाइ र सेवा प्रवाहलाई कसरी थप जनमुखी बनाउन सकिन्छ भन्ने विषयमा विचार आदान–प्रदान गरिएको थियो। प्रहरी नेतृत्व र तल्लो तहका कर्मचारीबीचको यो अन्तरक्रियाले प्रहरी मनोबल उच्च राख्न र समुदायसँगको सम्बन्ध सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।