भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनलाई ‘मिनी जनमत संग्रह’ को रुपमा लिन आग्रह गर्नुभएको छ । उहाँले यो निर्वाचन सुशासन र भ्रष्टाचारबीचको जनमत संग्रह भएको बताउनुभयो ।
मंगलबार भैरहवामा आयोजित क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कांग्रेस र एमालेका कार्यकर्तालाई समेत आफ्नै पार्टीलाई हराएर मुलुकमा सुधारको सन्देश दिन आग्रह गर्नुभयो । उहाँले यो उपनिर्वाचनले २०८४ को आम निर्वाचनको मार्गचित्र तय गर्ने बताउँदै तीन दशकसम्म सत्तामा रहेका दलहरूले भ्रष्टाचार बढाएको तर देशका लागि केही गर्न नसकेको आरोप लगाउनुभयो ।
अध्यक्ष लिङ्देनले सरकारमा रहेका नेताहरू ठेक्कापट्टा, सरुवा, बढुवा र नियुक्ति जस्ता हरेक काममा कमिसनखोरीमा लिप्त रहेको बताउनुभयो । उहाँले देशको सार्वजनिक ऋण ८ वर्षमा ६ खर्बबाट बढेर २८ खर्ब पुगेकोमा चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति टिप्पणी गर्दै लिङ्देनले लोकतन्त्र, राजतन्त्र, धर्मनिरपेक्षता र संघीयता जस्ता मुद्दामा अस्पष्ट नीति बोकेको पार्टीबाट जनताले न्याय पाउन नसक्ने बताउनुभयो ।
पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले विगतमा राप्रपाले जितेको यस क्षेत्रमा पुनः जित निकाल्न एकढिक्का भएर लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । अन्य वक्ताहरूले स्वर्गीय दीपक बोहराको योगदानको स्मरण गर्दै उपनिर्वाचनमा पार्टीको जित सुनिश्चित रहेको विश्वास व्यक्त गरे ।