पाल्पा । पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा बालविवाह विरुद्धको सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । तिनाउ गाउँपालिका वडा नं. २ स्थित सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) दिपेन्द्र पंजियार थारुले मुख्य प्रशिक्षकको रूपमा सहजीकरण गर्नुभएको थियो । उहाँले बालविवाहका कानुनी प्रावधान, यसले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा पार्ने असर र समाजमा यसको दीर्घकालीन प्रभावका विषयमा सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ र उपाध्यक्ष लाल बहादुर थापाको उपस्थिति रहेको थियो । साथै, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू र स्थानीय जनप्रतिनिधिहरूको पनि सहभागिता थियो । समुदायमा जनचेतना फैलाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा बाल मैत्री क्लब तथा सञ्जालका प्रतिनिधिहरू, गाउँपालिका भित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, महिला सञ्जाल, स्वास्थ्य स्वयंसेविकाहरू, आमा समूह तथा विभिन्न संघ-संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले बालविवाह अन्त्यका लागि कानुनको पालनासँगै सामाजिक सचेतना पनि उत्तिकै आवश्यक रहेको कुरामा जोड दिएका थिए ।