रुपन्देही प्रहरीको तस्करी विरुद्ध आक्रामक अभियान : दुई दिनमै साढे ८ लाख बढीको अवैध सामान र सवारी साधन नियन्त्रणमा

Ujyalosandeshonline 11033+ समाचार ( )
२० पौष २०८२, आइतबार

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सीमा क्षेत्रमा हुने अवैध गतिविधि र तस्करी नियन्त्रणमा आक्रामक रणनीति अपनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदीपबहादुर क्षेत्रीले कमान्ड सम्हालेसँगै सीमा नाकामा कडाइ गर्दै तस्करी विरुद्धको अभियानलाई तीव्र पारिएको हो । यसै क्रममा रुपन्देही प्रहरीले पछिल्लो दुई दिनमा मात्रै ८ लाख ७१ हजार रुपैयाँ बराबरको अवैध सामान, सवारी साधन र संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन सफल भएको छ ।

प्रहरीले पुस १९ र २० गते जिल्लाका विभिन्न सीमावर्ती क्षेत्र र नाकाहरूमा गरेको विशेष चेकजाँचका क्रममा भन्सार छली नेपाल भित्र्याइएका सामानहरू बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीका अनुसार बरामद गरिएका सामान तथा पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय बेलहिया र भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको छ ।

प्रहरीको यो विशेष अप्रेसनका क्रममा इलाका प्रहरी कार्यालय मर्चवारको टोलीले मर्चवारी गाउँपालिका–३ बाट लु २ च ६९५४ नम्बरको 'छोटो हात्ती' गाडी र त्यसमा लोड गरिएको भैंसीसहित चालक सियारी–६ का ४० वर्षीय विरेन्द्र लोधलाई नियन्त्रणमा लिएको छ । उक्त गाडी र भैंसीको कुल मुल्याङ्कन ५ लाख ६० हजार रुपैयाँ गरिएको प्रहरीले जनाएको छ । यसैगरी वडा प्रहरी कार्यालय भैरहवाले सिद्धार्थनगर–८ गोलिगढमा बेवारिसे अवस्थामा रहेका १ लाख १ हजार ७ सय बराबरका कपडा र गाडीका पार्टपूर्जाहरू बरामद गरेको छ भने इलाका प्रहरी कार्यालय बेलहियाले ओमसतिया–४ बाट १ लाख ३० हजार मूल्य बराबरका लत्ताकपडा र इलेक्ट्रोनिक सामानहरू नियन्त्रणमा लिएको छ ।

तस्करी नियन्त्रण अभियानलाई थप सशक्त बनाउँदै प्रहरी चौकी मैनिहवाले रोहिणी–२ बाट भन्सार छली ल्याइएको ५० केजी माछा र एउटा मोटरसाइकलसहित ओमसतिया–७ का बिसम्बर मल्लाहालाई पक्राउ गरेको छ । उता प्रहरी चौकी मेउडिहवाले पनि सिद्धार्थनगर–२ बाट अवैध रूपमा नेपाल भित्र्याइएको खाद्यान्न सामग्रीहरू बरामद गरेको छ ।

रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीको आगमनसँगै जिल्लामा तस्करी विरुद्ध शून्य सहनशीलताको नीति अख्तियार गरिएको छ । सीमा नाकाहरूमा प्रहरीको बाक्लो उपस्थिति र चौबीसै घण्टाको कडा निगरानीका कारण अवैध गतिविधिमा उल्लेख्य कमी आएको देखिन्छ । प्रहरीको यो सक्रियता र आक्रामक प्रस्तुतिले सीमा क्षेत्रका सर्वसाधारणले सुरक्षित महसुस गर्न थालेका छन् भने प्रहरी संगठनप्रति जनविश्वास समेत बढ्दै गएको पाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार