भैरहवा । बढ्दो चोरी न्यूनिकरण गर्न सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का स्थानियहरु आफै एकजुट भएका छन् । टोलमा चोरी लगायतका घटना रोक्न राजेश धवलको अध्यक्षतामा गोनहिया टोल सुरक्षा समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा देव सिंह गुरुङ्ग, सचिव राधेश्याम विश्वकर्मा, कोषाध्यक्ष मोहम्मद शमसेर रहेका छन् । यस्तै सदस्यहरुमा मोहन गुरुङ्ग, रमेश गुप्ता, बाबुराम कहार, धनिराम चौधरी, अजय राजभर, दुर्गा बहादुर थापा र झिनक चौधरी रहेका छन् । सल्लाहकारमा बसन्त प्रसाद भट्टराई, सन्तोष रायमाझी, राममिलन यादव, विवेक पौडेल, बुद्धिसागर तेली, फणिन्द्र पौडेल र भिम नारायण चौधरी रहेका छन् ।
केही दिन यता गोनहियामा रहेको अटोभिलेज र गोनहिया गाउँमा चोरीका घटना बढ्दै गएका छन् । मादक पदार्थ तथा लागु पदार्थ सेवन गरि अवाञ्छित तत्वहरुले चोरी गर्दै हिडे पछि यसको नियन्त्रणको लागि आफै अग्रसर हुनु परेको सल्लाहकार सन्तोष रायमाझीले बताए । “गोनहिया गाउँ मात्र हैन, अटोभिलेजमा रहेका बिभिन्न महत्वपूर्ण उपकरणहरु संगठित रुपमै चोरी भईरहेका छन् ।” रायमाझीले भने “चोरी नियन्त्रण गर्न प्रहरीमा उजुरी दिई मुद्दा चले पनि नियन्त्रण नभएपछि अहिले आफै नियन्त्रणको प्रयास गरेका हौं ।”
उनले समितिले चोरीका घटना नियन्त्रण गर्न पालैपालो गश्ती गरि भेटिएका शंकास्पद व्यक्तिहरुलाई प्रहरी प्रशासनको जिम्मा लगाउने जानकारी दिए ।
समितिका अध्यक्ष राजेश धवलले रातीमा यस क्षेत्रमा अनावश्यक कामले नहिड्न तथा मादक पदार्थ सेवन गर्ने थलो नबनाउन चेतावनी दिए । क्षेत्रमा चोरीको घटना बढ्दो रहेको र स्थानियहरु आक्रेशित भएकोले आक्रोशबाट जोगिन पनि रातीमा अनावश्यक कामले नहिड्न आग्रह गरे ।
स्थानीयले नागरिकले प्रहरीसंँग शान्ति सुरक्षाका क्षेत्रमा सहकार्य गर्ने, कुनै घटना भए अनुसन्धानमा सहयोग होस् भन्ने उद्देश्यका साथ यो समिति गठन गरिएको उनले बताए । टोल सुरक्षा समिति शान्ति सुरक्षामा बढी केन्द्रित हुनेछ ।