दुर्घटना रोक्न साईकल र ट्याक्टरमा ‘रिफ्लेक्टर स्टीकर’

Ujyalosandeshonline 11469+ समाचार ( )
२७ पौष २०८०, शुक्रबार

भैरहवा । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले लायन्स क्लब अफ भैरहवा लिगेसीले वृहत सचेतनामूलक अभियान अन्तर्गत साईकल र ट्याक्टर पछाडि ‘रिफ्लेक्टर स्टीकर’ टाँस्ने कार्यक्रम सञ्चालन गरेको छ । 


क्लबले जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीको सहकार्यमा बुधबार भैरहवा लुम्बिनी–सडकखण्ड अन्तर्गत सिद्धार्थनगर नगरपालिका–४ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि र बिहीबार भैरहवा–परासी सडकखण्ड अन्तर्गत ओमसतिया गाउँपालिका–४ स्थित बसन्तपुरमा उक्त कार्यक्रम गरेको हो ।

लायन्स अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको १४५ औं जन्मोत्सवको अवसर पारेर ‘मेल्भिन जोन्स सर्भिस वीक’ अन्तर्गत कार्यक्रम राखिएको लायन्स भैरहवा लिगेसीका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले बताए ।

उनले दुई दिनमा सडकमा गुडिरहेका साईकल, ट्याक्टर र अटोरिक्सामा गरी २ हजार सवारीसाधनमा रिफ्लेक्टर स्टीकर टाँसिएको बताए । उनले भने, ‘विशेष गरी जाडो मौसममा साईकल र ट्याक्टर टाढाबाट देखिदैन, जसका कारण दुर्घटना हुने सम्भावना हुन्छ ।

दुर्घटना नहोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेका छौं । यसले साईकल र ट्याक्टर चालकलाई पनि रिफ्लेक्टर स्टीकर टाँस्नुपर्छ भन्ने कुरामा सचेत गराएको विश्वास गरेका छौं ।’

कार्यक्रम संयोजक तथा लायन्स भैरहवा लिगेसीका सदस्य हृदयराम गुप्ताले यो कार्यक्रमले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउनेमा विश्वस्त रहेको बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिर सिंह बिष्टले बिहान–साँझपख स्टीकर टल्किएर टाढैबाट चालकलाई साईकल र ट्याक्टर हेर्न सहज होस् र हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्ने रिफ्लेक्टर स्टीकर टाँस कार्यक्रमको उद्देश्यले रहेको बताए ।

उनले लायन्स क्लब अफ भैरहवा लिगेसी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रुपमा सञ्चालन गरेको यो कार्यक्रममा सवारीचालकहरुलाई सचेत समेत गराइएको बताए । सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको प्रहरी निरीक्षक बिष्टले बताए ।

रुपन्देहीको ओमसतिया गाउँपालिका–५ पट्खौलीका संजय कुर्मी चौधरीले लायन्स भैरहवा लिगेसीले अत्यन्तै राम्रो काम गरेको बताए । उनले विशेष गरी रातको समयमा साईकल र ट्याक्टर टाढाबाट नदेखिने र जसका कारण दुर्घटना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै रिफ्लेक्टर स्टीकर टाँस्नु राम्रो कार्यक्रम भएको बताए ।

विमानस्थल अगाडि गरिएको कार्यक्रममा वडा प्रहरी कार्यालय भैरहवा, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का जनप्रतिनिधि तथा बसन्तपुरमा गरिएको कार्यक्रममा ईलाका प्रहरी कार्यालयको सहभागीता रहेको थियो ।




प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार