कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकामा दोश्रो विश्व ध्यान दिवसको अवसर पारेर एक बृहत ध्यान शिविर भव्यताका साथ सम्पन्न भएको छ। आर्ट अफ लिभिङ्ग, कञ्चन र कञ्चन गाउँपालिकाको संयुक्त आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो । शिविरमा आर्ट अफ लिभिङ्ग, अन्तर्राष्ट्रिय आश्रम बेङ्गलोर, भारतका ब्रह्मचारी देवदत्त जीले मुख्य प्रशिक्षकको रूपमा सहजीकरण गर्नुभएको थियो ।
सो अवसरमा उहाँले वर्तमान समयमा ध्यानको महत्त्व र यसको अपरिहार्यताबारे प्रकाश पार्नुभयो । सहभागीहरूलाई ध्यान गर्ने सही तरिका सिकाउँदै देवदत्त जीले दैनिक बिहान र साँझ कम्तिमा आधा घण्टा ध्यान गर्नाले शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थता प्राप्त हुने बताउनुभयो। उहाँले शिविरमा सहभागीहरूलाई करिब आधा घण्टा ध्यान समेत गराउनुभएको थियो।
त्यसैगरी, ध्यान गुरु काभ्या लम्सालले ध्यानका विभिन्न प्रकार र यसबाट हुने बहुआयामिक फाइदाहरूबारे जानकारी दिँदै प्रयोगात्मक अभ्यास गराउनुभएको थियो । कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले विद्यार्थीहरूमा अनुशासन र नैतिक शिक्षाको विकासका लागि विद्यालयहरूमा पनि यस्ता ध्यान शिविरहरू सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो।
यस्तै, कञ्चन गाउँपालिकाका निवर्तमान अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले ध्यान बिना वास्तविक ज्ञान प्राप्त गर्न सहज नहुने धारणा राख्नुभयो। ध्यानले मानिसलाई शारीरिक र मानसिक रूपमा तन्दुरुस्त बनाउनुका साथै दीर्घजीवी बन्न मद्दत पुर्याउने उहाँको भनाइ थियो। आर्ट अफ लिभिङ्ग, कञ्चनका संयोजक चुडामणी पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन उमा ढकालले गर्नुभएको थियो भने मेघनाथ पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो। शिविरमा कञ्चनका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक र विभिन्न सरोकारवालाहरूको ठूलो संख्यामा सहभागिता रहेको थियो।